काठमाडौं- कुनै व्यक्तिमा कारोना संक्रमण भएको छ वा छैन भन्ने निर्क्यौलका लागि दुई विधि सरकारले प्रयोग गर्दै आइरहेको छ। तर यीमध्येको एक विधि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)को विश्वसनीयतामाथि निरन्तर प्रश्न उठिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकलाई मान्ने हो भने आरडिटी परीक्षण आम सर्वसाधरणलाई आतंकित बनाउने काम मात्रै भएको छ।
मन्त्रालय स्रोतका अनुसार काठमाडौंमा मात्रै आरडिटी परीक्षणमा पोजेटिभ देखिएका ९४ जनाको 'रियल टाइम पोलिमर्स चेन रिएक्सन' (पिसिआर/आरटी पिसिआर) परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ। त्यति मात्रै होइन, ४ जनाको आरडिटीको नेगेटिभ रिजल्ट आएपनि पिसिआर परीक्षणमा भने पोजेटिभ नतिजा आएको छ।
यी त प्रतिनिधि उदाहरण मात्र हुन्। आरडिटी परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठ्ने क्रम जारी रहेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी परीक्षण गर्ने काम रोकेको छैन, बरु अझ बढावा दिइरहेको छ।
मन्त्रालयले अहिलेसम्म आरडिटी परीक्षणको संख्या उल्लेख गरेपनि त्यसको रिजल्ट भने लुकाएको छ। रिजल्ट किन लुकाइन्छ भन्ने प्रश्नमा मन्त्रालयका एक अधिकारीले आरडिटी रिजल्टमाथि विश्वसनीयता नभएको बताए। ‘आरडिटी परीक्षण गर्नु भनेको समाजमा आतंक सिर्जना गर्नु सरह हो। आरडिटी परीक्षण रोक्नुपर्ने भएपनि माथिल्लो तहबाटै दबाब आएकाले आरडिटी परीक्षणमा जोड दिइएको छ,’ स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने।
उदाहरणका लागि केही दिन अगाडि मात्रै काठमाडौं महानगरपालिकाले सरसफाइमा कार्यरत कर्मचारीको आरडिटी गरिएको थियो। ती परीक्षणमध्ये केहीको रिर्पोट कोरोना पोजेटिभ देखिएको थियो। तर, पछि उनीहरूको पिसिआर परीक्षण गर्दा आरडिटीमा पोजेटिभ देखिएका सबैको नतिजा कोरोना नेगेटिभ आयो। यसबाट के प्रष्ट हुन्छ भने आरडिटी परीक्षण विश्वसनीय छैन। काठमाडौंमा नै आरडिटी परीक्षणमा नेगेटिभ आएकामध्ये ४ जनाको समेत पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। यसले पनि आरडिटी कोरोना परीक्षणको विश्वसनीयतामाथि थप शंक पैदा गराएको छ।
आरडिटी परीक्षणको नतिजा सरकारसँग नै छैन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबपेज र कोरोना विशेष वेबसाइट (मन्त्रालयकै)मा मंगलबारसम्म भएको कोरोना परीक्षण संख्या उल्लेख गरिएको छ। मन्त्रालयले राखेको विवरणमा पिसिआर परीक्षण संख्या र आरडिटी परीक्षण संख्या दुवै उल्लेख छ। तर, पिसिआर परीक्षणबाट फेला परेको कोरोना संक्रमितको संख्या पेजमा राखिए पनि आरडिटी परीक्षणबाट पोजेटिभ आएकाहरुको संख्या भने राखिएको छैन।
मन्त्रालयले हालसम्म ३० हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको जानकारी गराएको छ। यीमध्ये ३० हजार ३ सय ६६ जनामा कोरोना नेगेटिभ देखिएको छ भने ३ सय ७५ मा पोजेटिभ देखिएको छ। तर, मन्त्रालयले आडिटी परीक्षणबाट पोजेटिभ रिजल्टको विवरण जानकारी गराइएको छैन।
यस विषयमा मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई प्रश्न गर्दा उनले यस विषयमा तथ्यांक संकलनको कार्य सुरु भएको जानकारी दिए। उनले काठमाडौं उपत्यकाको विवरण नियमित रूपमा हुने गरेको ४ बजेको मिडिया ब्रिफिङमा जानकारी गराउने तयारी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।