काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरषद् बैठक जारी छ। केही समयअघि सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रतिनिधिसभामा मंगलबार जवाफ दिने विषयमा छलफल भइरहेको बताइएको छ।
संसद सचिवालयले जेठ ६ गते सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची तय भएको जनाएको थियो। मंगलाबार १२ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिनेछन्। यसैको तयारीका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरषद् बैठक बोलाएका हुन्।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरसको नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम नभएको, नेपाली भूमि अतिक्रमणमा परे पनि सरकारले उच्चस्तरीय राजनीतिक नेतृत्वबीच छलफल गर्न उदासीन भएको, नेपाली सीमामा आइपुगेर पनि सरकारले नागरिकलाई प्रवेश गर्न नदिएको, विवादित एमसिसीका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको, भ्रष्टाचारलाई सरकारले बढावा दिएको लगायतका विषयमा विपक्षीमात्र नभएर सत्ता पक्षकै सांसद्ले आलोचना गरेपछि रणनीति निर्माणमा सरकार जुटेको हो।
नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत पनि मंगलबार नै गर्ने तयारी संसद सचिवलायले गरेको छ। संशोधन प्रस्तावमा निर्णय भएपछि सभामुखले उक्त कार्यक्रम पारितका लागि निर्णयार्थ पेश गर्नेछन्। उक्त प्रस्ताव पास गरेपछि सरकारले त्यसैको आधारमा जेठ १५ गते बजेट पेस गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।