काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाज मेडिकल सामग्री लिन चीन जाने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावरका अनुसार मेडिकल सामान लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज साँझ ६ बजेतिर चीनको गौन्जाओ जाने छ।
उक्त जहाज मेडिकल सामग्री ल्याउन नेपाली सेनाले चार्टर गरेको हो। सेनाले चीनमा खरिद गरेको झन्डै १८ टन सामान ल्याउन जहाज चार्टर गरेको हो।
यसअघि सेनाले स्थल मार्गबाट ८ टनभन्दा बढी मेडिकल सामग्री चीनबाट ल्याएको थियो। उक्त सामान शनिबार मात्रै काठमाडौं आइपुगेको थियो।
सेनाले सरकारलाई जीटूजी मार्फत मेडिकल सामान खरिद गरेर बुझाउने गरी चैत १५ मा निर्णय भएको थियो। सेनाले झन्डै पौने ३ अर्बको मेडिकल सामान खरिद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।