काठमाडौं- नागढुंगामा स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउको तयारी सुरु गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले स्वयंसेवाका नाममा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुव्यर्वहार गरेकाले ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्न लागिएको बताए।
ती युवकको पहिचान भइसकेको र उनको खोजीमा प्रहरी खटिसकेको राठौरेले जानकारी दिए।
गत शुक्रबार अत्यावश्यक कामले काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा एक युवाले खानतलासी गर्नुका साथैं दुव्यर्वहार समेत गरेका थिए। उक्त भिडियो फेसबुकमा समेत पोस्ट भएपछि त्यसको चौतर्फी विरोध भएको थियो।
यसरी स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुर्व्यवहार गर्ने अधिकार नभएको र आवश्यक कारबाही गरिने गृहमन्त्रालयले जनाएको थियो। गृहकै निर्देशनमा ती युवालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।