काठमाडौं- धुलिखेल अस्पतालमा कोरोना भाइरसको संक्रमणकै कारण एक सुत्केरीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।मन्त्रालयले शनिबार राती विज्ञप्ति जारी गर्दै सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको जानकारी दिएको हो।
शुक्रबार सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। ८ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी डिस्चार्ज भएपछि सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन्। तर श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो।
अस्पतालमा उनलाई आवश्यक उपचार प्रक्रिया अगाडि बढाइएको थियो। भेन्टिलेटरमा राख्ने तयारी भइरहेको समयमा उनको मृत्यु भएको बताइएको छ।
धुलिखेल अस्पतालमा उनको कोरोना स्वाब परीक्षणका क्रममा पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले उनको स्वाबको थप परीक्षणका लागि टेकु पठाएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उनमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयको भनाइ छ।

कोरोना पोजेटिभ सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीको नमूना संकलन गरी परीक्षणको काम भइरहेको छ।
बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनका अनुसार ती महिला सिन्धुपाल्चोक राम्चेकी हुन्। उनी २५ गते एम्बुलेन्समा गाउँ फर्केकी थिइन्। उनलाई जेठ १ गते श्वास फेर्न असहज भएको थियो।
श्वासप्रस्वासमा समस्या आएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रिबसे लगिएको थियो। केन्द्रले उनलाई धुलिखेल अस्पताल रेफर गरेको थियो।
कोरोना संक्रमणका कारण उनको मृत्यु भएपछि नगरपालिकाले उनको गाउँ र स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा उनको सम्पर्कमा आएकाहरुको खोजी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।