काठमाडौं- आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले आगामी वर्षभित्रै १० वटा ठूला आयोजना निर्माण शुरु गर्ने जनाएको छ।
सरकारले नीति तथा कार्यक्रममार्फत बुढी गण्डकी र पश्चिमसेती जलविद्युत आयोजनामा लगानीको बाह्य श्रोतसमेत जुटाई अगाडि बढाइने जनाएको छ। त्यस्तै नेपालको पानी जनताको लगानी कार्यक्रमअन्तर्गत माथिल्लो अरुण, तामाकोशी ५, फुकोट कर्णाली र जगदुल्ला जलविद्युत आयोजनाको अध्ययन सम्पन्न गरी निर्माण प्रारम्भ गरिनेछ। तमोर र माडी जलाशययुक्त आयोजनाको अध्ययन सम्पन्न गरी सार्वजनिक नीजि साझेदारीमा निर्माण कार्य अगाडि बढाइनेछ। दुधकोशी जलाशययुक्त आयोजनाको निर्माण कार्य शुरु गरिनेछ।
आगामी आर्थिक वर्षभित्रै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई अन्तिम रुप दिई परियोजना अगाडि बढाइनेछ।
आगामी आर्थिक वर्षभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसक्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
आगामी आर्थिक वर्षमा विद्युतको कुल जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य सरकारले राखेको छ। पछिल्लो २ वर्ष अवधिमा थप ८ लाख ५२ हजार घरधुरीमा विद्युत सेवा पुर्याइएको सरकारको दाबी छ भने आगामी वर्ष गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा विद्युतीकरण गरिनेछ भने आगामी २ वर्षभित्र सबै प्रदेशमा पूर्ण विद्युतीकरण गरिसकिनेछ।
राष्ट्रिय प्रशारण तथा वितरण प्रणाली नपुगेका हिमाली तथा उच्च पहाडी क्षेत्रमा २ सयवटा सोर्य मिनिग्रिड बनाई विद्युतीकरण गरिनेछ।
एकिकृत जलश्रोत नीति तयार गरी जलश्रोतको योजनाबद्ध एवं बहुआयामिक उपयोग गरिनेछ। जलविद्युत उत्पादन वृद्धि, ऊर्जा समिश्रण, ऊर्जा दक्षता वृद्धि र ऊर्जा व्यापारको माध्यामबाट ऊर्जा सुरक्षा कायम गर्ने सरकारको योजना छ।
पछिल्लो २ वर्षभित्रमा विद्युत चुहावट ७ दशमलव ६ प्रतिशत घटेको छ भने प्रतिव्यक्ति १ सय १० किलोवाट प्रतिघण्टाबाट २ सय ६० किलोवाट प्रतिघण्टा पुगेको छ। आगामी आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिव्यक्ति विद्युत खपत ३ सय ५० किलोवाट पुर्याउने सरकारको योजना छ।
उज्यालो नेपालको अभियानले सार्थकता पाएको सरकारले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।