काठमाडौं- सरकारले उच्च आर्थिक विकासको गति र विकासको आकांक्षामा कोरोनाले धक्का दिएको भन्दै सबल अर्थतन्त्र निर्माणका लागि फरक प्राथमिकताका साथ अघि बढ्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अबको कार्यदिशा शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना हुने बताएकी छन्।
राष्ट्रपति भण्डारीले मुलुकको आयमा परिवर्तन हुने र स्रोत परिचालनको क्षेत्र परिमार्जन भएकाले अन्तर्राष्ट्रिय स्रोतका अतिरिक्त आन्तरिक स्रोत परिचालन गर्नुपर्ने अवस्था आएको बताएकी छन्। अधिकांश मुलुकको वृद्धिदर ऋणात्मक हुँदा पनि जोखिम व्यवस्थापन गर्न सक्ने नेपाली अर्थतन्त्रको चरित्रलाई अझ सुदृढ बनाउने घोषणा पनि उनले गरेकी छन्।
आर्थिक क्रियालकलाप विस्तार, कृषि, रोजगारी सिर्जना, विकास निर्माण र सामाजिक जनजीवनलाई थप क्षति हुन नदिने गरी सरकारले काम अघि बढाउने पनि उनले घोषणा गरेकी छन्। आर्थिक उपलब्धि र विकासका प्रतिफलको समन्यायिक वितरण गर्ने घोषणा पनि उनले गरेकी छन्। स्वास्थ्य, शिक्षा, लैंगिक समानताजस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्ने योजना सरकारले अघि सारेको छ।
समग्र र सन्तुलित विकासका लागि सरकारले सुरु गरेका रुपान्तरणकारी र राष्ट्रियस्तरका आयोजना तोकिएका समयमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। कार्यक्रम र आयोजनाको पुनर्प्राथमिकीकरण गर्ने, फजुल खर्च रोक्ने घोषणा पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।