काठमाडौ- बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत वडा नम्बर ८ को एकै ठाउँबाट २६ जना कोरोना संक्रमित फेला परेका थिए। नेपालगञ्ज वडा नम्बर ८ मा मात्रै सिमित भएको कोरोना संक्रमण फेरि शुक्रबार नरैनापुर गाउँपालिकामा ८ जनामा देखिएको भेरी अञ्चल अस्पतालले जनाएको छ। नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ वडाका वर्ष १८, २०, २२, २५, २५, २६, ३२ र ३६ वर्षका सबै पुरुष छन्।
वडा नम्बर ८ मा कसरी फैलियो कोरोना?
नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत वडा नम्बर ८ मा कोरोना फैलनुमा मुस्लिमहरुको रमजान पर्व भएको वडा अध्यक्ष सुरेन्द्र गुप्ताले बताए। ‘यस वडामा केही महिना पहिले मस्जिदमा एक भारतीय मुस्लिम समुदायका धर्मगुरु आएका रहेछन्। उनैका कारणले यहाँका प्रायः मुस्लिम समुदायलाई कोरोना लाग्न पुग्यो‚’ गुप्ताले भने, ‘अहिलेसम्म जतिपनि कोरोना संक्रमित फेला परेका छन्। सबै वडा नम्बर ८ का मात्रै हुन्।’ यस वडा नम्बर ८ नजिकका ८२ घरधुरीका एक सय ५० जनाभन्दा धेरैलाई खजुरामा क्वारेन्टाइन राखिएको गुप्ताले बताए। पछिल्लो समय यस वडामा कोरोना संक्रमित फेला परेका छैनन्।
अत्यावश्यक सामग्री खरिद गर्न ११ बजेदेखि ३ बजेसम्म खुला
नेपालगञ्जले कोरोना संक्रमित फेला परेलगतै गत २३ वैशाखदेखि २५ वैशाखसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो। तर अहिले बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न खुला गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
हामीले दैनिक उपभोग्य सामग्री दाल, चामल, तेल, नुन, तरकारी, दूध, पानी, औषधिलगायत सामग्री खरिद गर्न ११ बजेदेखि ३ बजेसम्म खुला गरेका छौं।’ उपाध्यायले भने, ‘अरु समयमा बजार पुरै बन्द गर्नुका साथै आवतजावत समेत बन्द गरेका छौं।’ जेठ ५ गतेसम्म लकडाउनको पूर्ण पालना गराउन निरन्तर लागि रहेको उपाध्यायले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।