काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले लिम्पियाधुरा सहितको भू-भाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ।
सचिवालयको शुक्रबार बिहान बसेको बैठकले नेपालको भूमिको रक्षा गर्न र तत्काल नक्सा जारी गरेर भारतलाई जवाफ दिन निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो।
‘हामीले लिम्पियाधुरा सहितका भू-भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन, सुझाव दिएका छौं’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘नेपालको भू-भागको रक्षा गर्नु सरकारको कर्तव्य हो। यसमा सरकार कहीँ कतैबाट विचलित हुनुहुँदैन।’
भारतले गत नोभेम्बर २ मा नयाँ राजनीतिक नक्सा प्रकाशित गर्दै नेपालका भू-भाग पनि उसको क्षेत्रमा समेटेको थियो। त्यसमा नेपालले कुटनीतिक नोट पठाएको थियो। उक्त नोटका जवाफ नआउँदै भारतले नेपालको भूमि हुँदै मानसरोबार जाने सडकमार्गको अघिल्लो शुक्रबार उद्घाटन गरेको थियो।
भारतको नयाँ कदमको नेपालमा विरोध हुँदै आएको छ। सरोकारवालाहरुले नेपालले नयाँ नक्सा जारी गर्नुपर्ने बताउँदै आएका छन्।
नेपालको भूमि अतिक्रमण गर्दै सडक खनेको विषयमा पनि सरकारले दृढ भएर प्रस्तुत हुनुपर्ने र राजनीतिक तबरमै वार्ता गर्नुपर्ने सुझाब दिइएको श्रेष्ठले बताए ।
बैठकमा आजै संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रमबारे पनि छलफल भएको थियो। कोरोना कारण शिथिल बनेको अर्थतन्त्र उकास्ने गरी कार्यक्रम प्रस्तुत गर्न सुझाव दिएको उनले बताए।
सचिवालय बैठकमा स्थायी कमिटीको विषयमा भने छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए। उनले नीति तथा कार्यक्रमपछि बस्ने सचिवालय बैठकमा त्यस विषयमा छलफल हुनसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।