फाइल फोटो काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको एक नेताले बताए।
सरकारको तर्फबाट आज अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ। सोही विषयमा छलफल गर्न बैठक बोलाइएको ती नेताले जानकारी दिए।
नीति तथा कार्यक्रमका अतिरिक्त स्थायी कमिटी बैठकका सन्दर्भमा पनि छलफल हुने उनको भनाई छ। नेकपाको स्थायी कमिटी बैठकलाई लिएर पछिल्लो समय पार्टीभित्र विवाद सिर्जना भएको छ। गत वैशाख ८ गते सरकारले विवादित दुई अध्यादेश ल्याएपछि स्थायी कमिटीको माग उठ्दै आएको छ।
वैशाख २० गतेको सचिवालय बैठकले २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरे पनि २४ गते बैठक स्थगित गरिएको थियो। अध्यक्षद्वयको तर्फबाट स्थायी कमिटीमा पेश गरिने प्रतिवेदन तयार हुन नसक्दा बैठक स्थगित भएको थियो।
अध्यक्ष केपी शर्मा ओली पक्ष अहिल्यै पार्टीभित्रका सम्पूर्ण विषयमा छलफल गर्ने गरी स्थायी कमिटी बैठक बोलाउन पक्षमा छैन।
वैशाख ३१ गते बिहान ११ बजेका लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न स्थायी कमिटी बैठक आयोजना गरिएको थियो। तर, सोही दिन बिहान बैठक स्थगित भएको थियो। अर्को मिति तय हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।