काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) ले अवैध रुपमा रहँदै आएका आप्रवासी कामदारहरुको जरिवाना मिनाहा गर्ने भएको छ। भिजिट भिसा तथा कामदार भिसामा लागेको जरिवाना मिनाहा गर्ने भएको हो।
योभन्दा अगाडि पनि युएई सरकारले मार्च १ तारिखदेखि यता लागेको जरिवाना मिनाहा गरेको थियो। पछिल्लोे निर्णयले मार्च १ भन्दा अगाडि भिसा सकिएर अवैध बनेका आप्रवासीहरुको जरिवाना समेत मिनाहा गर्ने भएको हो। युएईमा विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्था बढ्दै गएका कारण त्यहाँको सरकारले आप्रवासी कामदार कटौति नीति अघि सारेको छ। सोसँगै ‘वर्कपर्मिट’मा लागेको जरिवाना समेत मिनाहा गरी जरिवाना मिनाहा गरिएकालाई स्वदेश फर्काउने तयारी युएई सरकारले गरेको छ।
जरिवाना मिनाहा हुनेहरुले आगामी १८ मे देखि ३ महिनाभित्र युएई छाडिसक्नुपर्ने उल्लेख छ। जरिवाना मिनाहा भएर स्वदेश फर्किएका आप्रवासीहरुलाई पुनः युएई जान प्रतिबन्ध नहुने निर्णय युएई सरकारले गरेको छ। उनीहरु कोरोना संक्रमणको अवस्था सामान्य भएपछि युएई फर्किन पाउँनेछन्।
युएई सरकारको यो निर्णयले युएईमा अवैध भएर बसेका नेपाली श्रमिकहरु पनि लाभान्वित हुनेछन्। भिजिट भिसामा गएर अवैध बनेका नेपालीहरुलाई पनि युएई सरकारको यो निर्णले राहत मिल्नेछ।
हाल युएईमा करीब ३ लाख नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान छ। जसमध्ये गैह्रकानुनी रुपमा रहेका नेपालीहरको संख्या पनि निकै ठूलो रहेको अनुमान छ। कोरोनाका कारण भिटिज भिसामा गएर भिसा अवधि सकिएर पनि स्वदेश फर्किन नपाएकाहरुको संख्या पनि ठूलो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।