काठमाडौं– परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले मंगलबार वैदेशिक रोजगारीका मुख्य गन्तव्य मुलुकका राजदूतहरुसँग भिडियो वार्ता गरेका छन्। मन्त्री ज्ञवालीले भिडियो वार्तामार्फत विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुका समस्या समाधान गर्न सम्बन्धित सरकार र रोजगरादाताहरुसँग समन्वय गर्न राजदूतहरुलाई निर्देशन दिएका छन्।
भिडियो वार्तामार्फत मन्त्री ज्ञवालीले कोरोना संक्रमणको पछिल्लो अवस्था, प्रभाव, रोजगारी, खाना र आवासको अवस्थाका बारेमा जानकारी लिएका थिए।
त्यस्तै उनले श्रमिकहरुको समस्याको प्रकृति र समस्यामा परेका कामदारको प्राथमिकताका आधारमा स्वदेश फिर्तिको विषयमा जानकारी लिएका थिए।
राजदूतहरुले सम्बन्धित मुलुकमा नेपाली श्रमिकहरुले भोगेका समस्या तथा समाधानका लागि दूतावासले गरेको पहलबारे अवगत गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।