काठमाडौं- नेपालमा बिहीबार थप मानिससमा कोरोना भाइरसको संक्रमण देखिएको छैन। बिहीबार प्रयोगशाला परीक्षण गर्दा थप मानिसमा संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभर १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेको बताए। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले आइसोलेसन १ सय ३३ जना रहेको जानकारी दिए। रेड जोनमा ३ सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ।
यीमध्ये २२ जना उपचारपछि निको भएका छन्। बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
नेपाल अमेरिका मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ६८ लाख २५ हजार २ सय रुपैयाँ सहयोग गरेको छ। प्रतिष्ठानको आइसियू सुधारका लागि फाउन्डेसनले सहयोग गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिएका हुन्।
बुधबारसम्म संक्रमित हुनेहरुमा ७१ पुरुष २८ महिला गरी ९९ जना रहेका छन्। ७७ जना उपचारको क्रममा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।