काठमाडौं- नेपालमा दुई महिनाका शिशुमा पनि कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई महिनाका बच्चामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार उनीसहित १७ जनालाई बुधबार कोरोना संक्रमण भएको पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९९ पुगेको छ।
यसअघि नेपालगञ्जमा ७ वर्षीय बालिकामा कोरोना संक्रमण भएको थियो। नेपालमा सबैभन्दा बढी ८१ वर्षीय वृद्धामा संक्रमण देखिएको थियो। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्ने ती वृद्धा निको भएर घर गइसकेकी छिन्।
बुधबार थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्।नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेपिन २२ जना उपचारपछि निको भएका छन्।
वीरगञ्जमा बुधबार थपिएका २ महिने शिशुसहित १७ जनालाई उपचारका लागि नारायणी अस्पताल ल्याइएको छ। उनीहरुको अवस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिए।
यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
मन्त्रालयका अनुसार कोशी अस्पतालमा उपचाररत ६ जना निको भएर घर फर्किएका छन्। हाल उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन् भने देशभर १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।
मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।