काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबाट पार पाउनका लागि प्रधानमन्त्रीबाट केपी ओलीले तत्काल राजीनामा दिनुपर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले निष्कर्ष निकालेका छन्।
आज बस्ने भनिएको सचिवालय बैठकमा आफ्नो पक्षको रणनीति तय गर्न शुक्रबार कोटेश्वरमा बसेको दुई पक्षको बैठकले राजीनामा दिएपछि बाँकी निर्णय गर्न लागि सहज हुने रणनीति तय गरेको एक नेताले बताए।
गत बुधबार बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सकिएपछि आफूले राजीनामा दिने र त्यसपछि बामदेव गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए। साथै, उनले माधव नेपाललाई तेस्रा अध्यक्षमा प्रस्ताव गरेका थिए।
असन्तुष्ट पक्षले ती प्रस्तावलाई आफूहरुमा विभाजन ल्याउने रणनीतिको रुपमा बुझेको छ। प्रधानमन्त्री राजीनामा दिन तयार हो भने तत्कालै दिनुपर्ने र वामदेवलाई प्रधानमन्त्रीको रुपमा अघि सार्नका लागि बाँकी प्रक्रियाका लागि माइन्युट गरेर अघि बढ्नुपर्ने उनीहरुको बुझाइ छ।
प्रधानमन्त्रीको राजीनामा बुधबारकै बैठकमा उठिसकेको भएकाले त्यो विषय स्वभाविकरुपमै उठ्ने आफ्नो बुझाइ रहेको माधव नेपाल पक्षका नेता वेदुराम भुसालले बताए। 'बामदेवलाई प्रधानमन्त्री बनाउने हो भने पनि प्रधानमन्त्रीले राजीनामा दिने र कुन विधिबाट बनाउने हो त्यो प्रक्रिया किटान गर्नुपर्छ', उनले भने।
त्यस्तै, स्थायी कमिटी बैठकको मिति तोक्नुपर्ने पनि असन्तुष्ट पक्षको माग छ। आजको बैठकमा यो विषयलाई पनि जोडतोडका साथ उठाउने उनीहरुको रणनीति छ। स्थायी कमिटी बैठक बसेमा ओलीमाथि राम्रैसँग दबाब दिन सकिने उनीहरुको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।