काठमाडौं- फ्रान्सको शीर्ष दुई डिभिजन लिग वान र लिग टू फुटबल प्रतिस्पर्धा यत्तिकै स्थगित हुने भएको छ। फ्रान्सले बन्द रंगशालामा समेत खेल गर्न नमिल्ने गरी सम्पूर्ण खेलकुद गतिविधि सेप्टेम्बरसम्मका लागि नगर्न भनेसँगै लिग फुटबल स्थगित भएको हो।
फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले मे ११ पछि मात्रै लकडाउन केही खुकुलो हुन सक्ने र सेप्टेम्बरसम्म सबै खेल गतिविधि बन्द गर्ने बताएकाले २०१९–२० को खेलकुद गतिविधि सकिएको हो।
फ्रान्स फुटबलको प्रशासकीय निकायले भने १७ जुनमा रोकिएको लिग सुरु गर्ने गरी तयारी गरिरहेको थियो। २५ जुलाईमा सकाउने गरी तयारी गरिएको लिग फुटबल अब बीचमै रोकिएको हो। फ्रान्समा कोरोना भाइरस (कोभिड १९) का कारण १३ मार्चदेखि सबै खेल रोकिएको छ।
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई अरु क्लबले उछिन्ने छाँटकाँट देखिएको थिएन। पिएसजीको २७ खेलमा ६८ अंक भइसकेको छ। दोस्रोमा रहेको मार्सेलीको २८ खेलमा ५६ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।