उदयपुर- नेपालमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा सिलबन्दी खुकुलो बनाउने तयारी थालिएको छ। विगत एक सातादेखि नयाँ संक्रमित नदेखिएको कारण सिलबन्दी खुकुलो गर्न लागिएको नगरपालिकाले जनाएको हो।
गत बैसाख ५ गते त्रियुगा नगरपालिका ३ भुल्केको एक मस्जिदका १२ जनामा कोरोना संक्रमण भेटिएसँगै सो क्षेत्रमा सिलबन्दी गरिएको छ। सोही क्षेत्रमा मात्र हालसम्म २८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।संक्रमित सबैको कोभिड-१९ विशेष अस्पताल बिराटनगरमा उपचार भइरहको छ।
एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि शंकास्पदहरुको थप परीक्षण जारी छ। हालसम्म ६ सय बढीको पिसिआर टेस्ट गिरएको र २८ बाहेक सबैको रिपोर्ट नेगेटीभ आएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए।
पछिल्लो समय २८ जना संक्रमितको सम्पर्कमा आएका ८३ जनाको पिसिआर टेस्टको लागी विराटनगर पठाइएको उनको भनाइ छ।
बुधबार साँझ सम्ममा ८३ जनाको पनि रिपोर्ट आईसक्ने र सोही अनुसार सिलबन्दी खुकुलो बनाउने र लकडाउनको पूर्ण रूपमा पालना गरिने उनले बताए। सर्वप्रथम २८ जनाको ट्रेस पत्ता लगाएको उनीहरुको सूचनाका आधारमा अरुको टेस्ट थालिएको उनको भनाइ छ। बाँकी रिपोर्ट बुधबार साझसम्म आइसक्ने छ।
हाल सो क्षेत्रमा नेपाल प्रहरी र ससस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन्। कसैलाई पनि घरबाहिर निस्कन नदिइ शिलबन्दी गरिएको मेयर चौधरी बताउँछन्।
सिलबन्दी गरीएको ३ सय परिवारको बस्तीमा नगरपालिकाले खानालगायत आवश्यक सामग्री घरैमा पुर्याउने व्यवस्था मिलाएको मेयर चौधरीले जानकारी दिए। उनका अनुसार बस्तीमा बारम्बार नगरपालिकाले सम्पर्क गर्ने गरेको र केही समस्या आए २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखीएको छ।
उता प्रदेश १ सामाजिक विकास मन्त्रालयले भने सिलबन्दी अहिल्यै खुकुलो गरिनेबारे कुरा नभएको बताएको छ। लामो समयपछि पनि संक्रमण पुष्टि हुने भएकोले अझै धेरै परीक्षण गरेर मात्र केही खुकुलो गर्न सकिने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।