काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। दिउसो २ बजेका लागि बोलाइएको बैठकले हप्ता दिनका लागि लकडाउन थप्ने निर्णय गर्न सक्ने एक मन्त्रीले बताए।
शनिबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हप्ता दिन लकडाउन थप्न सुझाब दिएको थियो। लकडाउन थप्ने बारेमा शनिबार समितिका सदस्य रहेका मन्त्री र सुरक्षा निकायका प्रतिनिधिले हप्ता दिनका लागि लकडाउन थप गर्न प्रस्ताव गरेका थिए।
सरकारले लकडाउनबाट कोरोना भाइरसको संक्रमण बढ्नबाट रोक्ने सफल भएको निष्कर्ष निकालेको छ। उच्च स्तरीय समितिको बैठकमा समेत कोरोना संक्रमित भए पनि अहिलेसम्म ज्यान नजानुलाई उपलब्धिको रुपमा लिएको थियो।
स्वास्थ्य सुविधासँगै मेडिकल सामाग्री तयारी अवस्थामा भएकाले डराउनुपर्ने अवस्था नरहेको समितिमा छलफलमा उठेको एक मन्त्रीले बताए। सरकारले लगाएको तेस्रो चरणको लकडाउन भोलि सकिदै छ। सरकारले गत चैत ११ गतेदेखि लकडाउन लगाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।