काठमाडौं-‘युनिभर्सल बोस’ को उपनामले चिनिने क्रिकेटर क्रिस गेल सेन्ट लुसिया जुक्समा अनुबन्धित भएका छन्।
क्यारेवियन प्रिमियर लिग (सिपिएल) को फ्रेन्चाइज टिम जमैका टलावाहसले गेललाई रिटेन नगरी रिलिज गरेपछि सेन्ट लुसिया जुक्सले गेललाई अनुबन्धित गरेको हो। क्रिस गेलले सुरुका चार सिजन सिपिएल जमैका टलावाहसबाट खेलेका थिए। त्यसपछिका दुई वर्ष उनले सेन्ट किट्स एण्ड नविस प्याट्रियट्सबाट खेले। त्यसपछि फेरि २०१९ को सिजनमा सिपिएल गेलले टलावाहसबाट खेलेका थिए। गएको सिजन उनले ११६ रन बनाएका थिए।
क्रिस गेललाई आफ्नो टिममा अनुबन्धित गरेको सेन्ट लुसियाका कप्तान ड्यारेन सामीले क्लबको आधिकारिक टुइटरमा भिडियोमार्फत\ बताएका छन्।
४० वर्षीय गेल टि–२० क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। टेष्ट र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका गेलले एकदिवसीय क्रिकेटबाट भने सन्यास लिइसकेका छैनन्। तर उनी गत वर्ष भएको विश्वकप पछि भने वेष्ट इन्डिज टिम बाहिर छन्।
यो हाम्रो लागि राम्रो समाचार हो, भन्दै कप्तान सामीले भिडियोमा भनेका छन्, ‘क्रिस गेल टि–२० क्रिकेटमा विश्वकै सबै भन्दा सफल ब्याट्सम्यान हुन्। उनको अनुभव हाम्रा युवा खेलाडीका लागि सिक्ने मौका हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।