काठमाडौं- सामाजिक सञ्जाल साइट फेसबुकले भारतमा ५ अर्ब ७० करोड अमेरिकी डलर (४३ हजार ५ सय ७४ करोड भारू) लगानी गर्ने घोषणा गरेको छ। फेसबुकले भारतको मोबाइल सेवा प्रदायक रिलायन्स जिओमा उक्त रकम लगानी गर्ने घोषणा बुधबार गरेको हो।
उक्त लगानी गरेबापत फेसबुकले रिलायन्स जिओको ९.९९ प्रतिशत सेयर पाउने छ। सामाजिक सञ्जाल कम्पनीले भारतमा गरेको यो अहिलेसम्मकै ठूलो लगानी हो। गत महिना फाइनान्सियल टाइम्सले फेसबुकले जिओमा लगानी गर्ने कुरा भइरहेको लेखेको थियो। तर यो डिल कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो।
सो लगानीबाट सञ्चालन हुने परियोजनाबाट सुरूमा साना व्यवसाय, कम्पनी र पसलेहरू जहाँ धेरै उपभोक्ताको सम्पर्क हुन्छ, त्यहाँ लगानी गर्न दुवै सहमत भएका छन्। यो सँगै जिओमार्टमा ह्वाट्सएपको व्यावसायिक साझेदारीसमेत भएको छ। जिओमार्ट मोबाइल प्रयोगकर्ताहरूको इकमर्स प्लेटफर्म हो। यसबाट साना व्यवसायीमार्फत आवासीय क्षेत्रमा पहुँच पुग्ने छ।
दुई कम्पनीबीचको साझेदारीले भारतमा रहेका ६ करोड साना व्यवसायीलाई फाइदा हुने फेसबुकका सिइओ मार्क जुकरबर्गले बताएका छन्। 'भारत फेसबुक र ह्वाट्सएप प्रयोगकर्ताको ठूलो जमात भएको घर हो,' जुकरबर्गले भनेका छन् , 'जहाँ निक्कै तिक्ष्ण व्यवसायीहरू छन्।'
भारतीय अर्बपति मुकेश अम्बानीले २०१६ मा जिओ सुरू गरेका थिए। उनले एयरटेल, भोडाफोनलगायत सँग प्रतिस्पर्धा गर्ने गरि सो कम्पनी खोलेका हुन्। जिओ खुलेसँगै भारतमा मोबाइल डाटा निक्कै सस्तो भएको मानिन्छ। हाल जिओ भारतको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक भएको छ जसका उपभोक्ता ३ सय ८८ मिलियनभन्दा बढी छन्।
फेसबुकसँगको समझदारीले कोरोना भाइरस महामारीबाट उत्रिएपछिको आर्थिक सुधारमा टेवा पुग्ने विश्वास अर्बपति अम्बानीले गरेका छन्। जिओ र फेसबुकबीचको समझदारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 'डिजिटल इन्डिया' योजनालाई समेत सहयोग पुग्ने अम्बानीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।