काठमाडौं- डाक्टरमाथि कुटपिट गर्ने प्रहरीले लिखित रुपमै माफी माग्ने भएको छ। साथै, सम्बन्धित प्रहरीमाथि विभागीय कारबाही पनि हुने भएको छ।
स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा लिखित माफी र विभागीय कारबाहीमा सहमति जुटेको हो।
बुधबार साँझ ड्युटी सकेर घर फर्कदै गर्दा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरीले टिचिङका डाक्टर शम्भू खनाल, तेजप्रकाश साह र कान्तिका डाक्टर विकास साहमाथि कुटपिट गरेका थिए।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै रोहबरमा दुवै पक्षबीच सहमति भएको हो।
कोरोनासँग लड्ने कि प्रहरीसँग भन्दै चिकित्सकले कुटपिटको विरोध गरेपछि स्वास्थ्यमन्त्री ढकालको उपस्थितिमा पिडित चिकित्सक, महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटी, नेपाल चिकित्सक संघलगायतको बैठकले सहमति गरेको हो।
यसअघि त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान भएको छलफलमा प्रहरीले गल्ती भएको भन्दै मौखिक रुपमा माफी मागेका थिए। प्रहरीले लिखित रुपमा माफी माग्नुपर्ने र गल्ती गर्नेलाई विभागीय कारबाही गर्नुपर्ने आवासीय चिकित्सकको माग राखेपछि छलफल टुंगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।