काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता पहिलो पटक सारिएको मितिअनुसार ३ गते बुधबारदेखि सुरु हुने तय थियो। तर भारतमा बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमण र थपिएको लकडाउनका कारण प्रतियोगिता हुन सकेन। अहिले नयाँ मितिका लागि छलफल भइरहे पनि कहिले गर्ने भन्नेमा अन्योल बढेको छ।
विश्वभर स्थगित भएका र मिति सारिएका खेल प्रतियोगिता जस्तै आइपिएल क्रिकेटको मिति दोस्रो पटक पनि सर्ने निश्चित भए पनि कोरोनाको संक्रमणले कस्तो रुप लिन्छ भन्ने ठम्याउन मुस्किल रहेकाले प्रतियोगिता हुनेमा अन्योल बढेको हो।
पहिले चैत १६ गतेदेखि गर्ने भनिएको प्रतियोगिता १८ दिन पछि सार्दै बैशाख ३ गतेका लागि नयाँ मिति तोकिएको छ तर आधिकारिक रुपमा केही नबताइए पनि छिटो नै प्रतियोगिता हुन सम्भव छैन। मार्च २९ देखि मे २४ तारिखको बीचमा प्रतियोगिता गर्नुपर्ने समय रहेको बताइएकोमा पछिल्लो मितिमा पनि कठीन देखिएको हो। भारतभर अहिले मे ३ सम्मका लागि लकडाउनको मिति समेत बढिसकेको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, आइपिएल प्रमुख ब्रिजेश पटेल, बिसिसिआई कोषाध्यक्ष अरुण धुमाल र आइपिएलका प्रमुख कार्यकारी हेमाङ अमिनसहित मंगलबार अबेर भिडियोमार्फत कुराकानी भएको थियो। तर त्यसबाट कुनै निश्कर्ष निस्किएको छैन। यहि हप्ता दोस्रो बैठक हुने र त्यसमा निर्णय हुने बताइएको छ।
विश्वकै सबैभन्दा महँगो खेल प्रतियोगितामध्येको एक आइपिएल स्थगित गर्नुपरेमा त्यसले पार्ने आर्थिक असरलाई लिएर बिसिसिआई पनि कडा निर्णय लिन डराइरहेको देखिन्छ।
यसअघि पनि बन्द स्टेडियममा खेल गर्ने कि प्रतियोगिता सार्ने भन्ने विषयमा भएको छलफलपछि मिति सार्ने निर्णय भएको थियो। कोरोनाले महामारीको रुप लिनुअघि भारत सरकारले खेल स्थगित नगर्ने तर मानिसहरु धेरै जम्मा हुने काम नगर्न भनेपछि बन्द स्टेडियममा खेल गर्ने गरी सम्बन्धितहरु लागिपरेका थिए।
यसअघि भारतमा कोरोना फैलनुअघि विश्व खेलकुदमा परिरहेको असर आइपिएलमा नपर्ने बिसिसिआईले बताइरहे पनि विश्व स्वास्थ्य संगठनले नै महामारी घोषणा गरेका कारण प्रतियोगिता सार्ने निर्णयमा पुगेको थियो। अहिले भने भारतमा नै बुधबार बिहानसम्म कोरोना भाइरस (कोभिड १९) का ११ हजारभन्दा बढी संक्रमित पुगिसकेका छन् भने ३ सय ७७ जनाको मृत्यु भइसकेको छ।
बिसिसिआईले प्रतियोगिता सार्ने विषयमा आधिकारिक रुपमा केही नभने पनि सरकारको लकडाउनको निर्णय प्रतीक्षा गरिरहेको थियो। अझै पनि बन्द स्टेडियममा खेल गर्ने प्रयासमा लागेको भन्दै बिसिसिआईको आलोचनासमेत भइरहेको छ।
आइतबार बिसिसिआई अध्यक्ष सौरभ गांगुलीले अवस्थाको अध्ययन भइरहेको बताएका थिए। अहिले नै केही बताइहाल्न नसक्ने उल्लेख गरेका गांगुलीले खेल गर्न नसकिनेतर्फ संकेत भने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।