काठमाडौं- नेपाल टेलिकमले नेपाल सरकारको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)सँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ। पहिलो चरणमा सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने नेपाल टेलिकमले जनाएको छ।
त्यसपछि क्रमशः प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्न सकिने टेलिकमको भनाइ छ। सर्वेक्षणका लागि कम्पनीले सम्बन्धित प्रदेशका सबै जिल्लाहरुमा रहेका कम्पनीका मोबाइल प्रयोगकर्ताहरुलाई एसएमएसमार्फत जानकारी गराउने भएको छ।
एसएमएस प्राप्त भएपश्चात् कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले युएसएसडीमार्फत *१४१९# डायल गरी सोधिएका प्रश्नको जवाफ सहज रुपमा अंक १ वा २ थिचेर दिन सक्ने टेलिकमले जनाएको छ।
सर्वेक्षण देवनागरी लिपिमा उपलब्ध हुनेछ र हरेक प्रश्नको उत्तर यदि ‘छ’ भएमा १ र ‘होइन’ वा ‘छैन’ भएमा २ थिचेर पठाउनु पर्ने टेलिकमले जनाएको छ।
सर्वेक्षणबाट प्राप्त तथ्यांक सिसिएमसीलाई सिधै प्राप्त हुनेगरी कम्पनीले आवश्यक व्यवस्था समेत गरेको छ।
यसरी सर्वेक्षणबाट प्राप्त हुने तथ्यांकको विश्लेषणबाट सिसिएमसीले कोरोना संक्रमणको अवस्थाको बारेमा महत्वपूर्ण जानकारी हासिल गर्नसक्ने र संक्रमण नियन्त्रण गर्न थप सहयोग पुर्याउन सक्ने विश्वास टेलिकमले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।