काठमाडौं- विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९) का मृतकको संख्या निरन्तर बढेसँगै अमेरिकी सहर न्युर्योकमा सामूहिक चिहानमा शवहरु गाडेको तस्बिर सार्वजनिक भएको छ।
बिबिसीका अनुसार तस्बिरमा शव गाड्ने श्रमिकहरुले भर्याङबाट ओर्लिदै गरेको देखिन्छ, जहाँ शवहरु भेला पारिएको छ।
कोरोनाबाट मृत्यु हुनेहरुको अन्त्यष्टि गर्न प्रयोग गरिएको स्थान जर्ट आइल्याण्ड हो, जुन शवको अन्त्येष्टि गर्ने हैसियत नभएका न्युर्योक निवासीले प्रयोग गर्ने गर्थे।
पछिल्लो विवरणअनुसार न्युर्योकमा मात्रै अब कुनै पनि देशको तुलनामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन्। त्यहाँ बिहीबारमात्रै १० हजारलाई कोरोना संक्रमण भएसँगै कुल संक्रमितको संख्या १ लाख ५९ हजार ९ सय ३७ पुगेको छ। तीमध्ये ७ हजारको मृत्यु भएको छ।
ड्रोनमार्फत लिइएको तस्बिरअनुसार त्यहाँ देखिएका शवहरुमध्ये धेरै कोरोना भाइरस पीडितको हुनसक्ने तर कोरोना संक्रमित मृतक नै हुन् भन्ने विषयमा भने स्पष्ट भइनसकेको बिबिसीले जनाएको छ।
कोरोना महामारीका कारण हप्तामा एकदेखि ५ दिनसम्म सामूहिक चिहानमा शव गाड्ने क्रम तिव्र रुपमा बढेको छ। शव गाड्ने काम प्रायः रिकर्स आइल्याण्डस्थित सहरको मुख्य जेलका कैदीहरुले गर्ने गर्छन्, तर कामको चाप बढेपछि यो काम हालै ठेकेदारहरुलाई सुम्पिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।