काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै जाँदा खेलका बेला हात नमिलाउन निर्देशन दिनेदेखि खालि स्टेडियममा खेल गर्ने हुँदै बढेको क्रिकेटमा सबै खेलहरु स्थगित भएको पनि लामो समय भइसक्यो। तर यसको प्रभावले अगाडिका महत्वपूर्ण सिरिजहरु समेत रोकिँदै क्रिकेटमा लामो समय असर पर्ने देखिएको छ।
निश्चित तालिका र समयक्रममा बढ्नुपर्ने खेलहरु रोकिँदा यसले निश्चित रोकिएको समयलाई मात्र नभइ आउने सिरिजहरु र आउँदो वर्षको खेल तालिकाकालाई पनि प्रभावित पार्ने देखिएको हो।
आउने जुनमा इंग्ल्याण्ड र वेस्ट इन्डिजबीच इंग्ल्याण्डमा हुने टेस्ट क्रिकेट अनिश्चित बनेको इंग्ल्याण्डका क्रिकेट डाइरेक्टर एस्ले गिल्सले बताएका छन्। यस्तै जुनमा नै अस्ट्रेलिया र बंगलादेशबीच हुने सिरिज पनि स्थगित भएको छ।
कोरोना भाइरस (कोभिड १९) कारण इंग्ल्याण्डमा गएको २८ मे देखि कुनै पनि खेल हुन सकेको छैन। यस्तोमा तीन टेस्टको सिरिजको पहिलो खेल जुन ४ मा सुरु हुने तालिका प्रभावित हुने देखिएको हो। त्यसका लागि आफूहरुले विकल्प खोजिरहेको पनि गिल्सले बताएका छन्। ‘अहिले हुन नसकेको खेल कहिले कसरी हुनेछ भन्नेमा हामी छलफल गरीरहेका छौँ’ उनले भनेका छन्।
वेस्ट इन्डिजसँगको सिरिजपछि इंग्ल्याण्डले अस्ट्रेलियासँग खेलहरु खेल्ने तय थियो। त्यसपछि पाकिस्तानसँग टेस्ट र ट्वान्टी ट्वान्टी र आयरल्याण्डसँग हुने तीन खेलको एकदिवसीय सिरिज पनि प्रभावित हुने देखिएको छ।
यसअघि इंग्ल्याण्डकै श्रीलंका भ्रमण पनि खेल चलिरहँदा नै स्थगित भइसकेको छ। कोरोना भाइरस (कोभिड १९) का कारण विश्व खेलकुद गतिविधि ठप्प हुँदा क्रिकेटको नयाँ तालिका प्रभावित हुने देखिएको हो।
गएको मार्च ५ मा एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट स्थगित भएको नेपालमा पनि राष्ट्रिय टिमका अरु महत्वपूर्ण सिरिजहरु स्थगित भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जुन ३० अघिका सबै प्रतियोगिता स्थगित भएको जनाएसँगै नेपालको महत्वपूर्ण दुई सिरिज अनिश्चितकालका लागि स्थगित भयो।
आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले नामिबियामा र पपुपा न्युगिनीमा खेल्ने सिरिज स्थगित भएको हो। अप्रिल २० देखि २७ सम्म नामिबियामा र जुन ९ देखि १६ सम्म पपुवा न्युगिनीमा सिरिज हुने तय थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।