काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनमा चीनबाट मेडिकल सामग्री खरिद प्रकरणमा मुछिएका सल्लाहकारको बचाउ गरेको विषयलाई मंगलबार साँझ बस्ने सचिवालय बैठकमा नेताहरुले उठाउने तयारी गरेका छन्।
‘महामारीका बेला यसरी मेडिकल सामग्री खरिद प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकार र रक्षामन्त्रीको संलग्ताको विषय बाहिर आएको छ,’ एक सचिवालय सदस्यले भने, ‘हामीले अनियमितताका विषयमा स्पष्ट हुनेगरी प्रधानमन्त्रीज्यूलाई सोध्ने छौं।’
महामारीका बेला अनियमितताका विषय उठ्दा सरकारमात्रै होइन पार्टी नै बदनाम हुने अवस्था आएको ती नेताको टिप्पणी छ।
प्रधानमन्त्रीले अनियमितताको आरोप लागेका आफ्ना सल्लाहकारलाई संरक्षण गर्दै सरकारलाई असफल देखाउन चलाएको बेमौसमी बाजाको संज्ञा दिएका थिए। यस आरोपलाई प्रधानमन्त्रीले आफ्नो निहित स्वार्थ पूरा गर्न चलाएको प्रचारबाजी बेमौसमी बाजा भएको भन्दै यस्ता प्रवृत्ति किमार्थ प्रशंसनीय नहुने दाबी गरेका छन्।
प्रधानमन्त्रीले आफैं भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धततालाई निराधार कूप्रचारले कमजोर पार्न नसक्ने बताए। यदि अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निमर्मतापूर्वक कारबाही गर्न पछि नपर्ने आश्वासन दिए।
चीनबाट ल्याएका मेडिकल सामग्री खरिद अनियमिततामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आईटी सल्लाहकार असगर अली जोडिएका छन्। रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई समेत जोडेर आलोचना भएको छ। यस विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमात्रै होइन सत्तारुढ नेकपाका नेताहरुले समेत चर्को विरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।