एजेन्सी–बेलायती प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरस संक्रमणका कारण आइसियुमा भर्ना भएपछि यसबारे बेलायती महारानी एलिजाबेथ द्वितियलाई जानकारी गराइएको छ।
बकिङघम प्यालेसका प्रवक्ताका अनुसार प्रधानमन्त्रीको अवस्थाबारे दरबारमा जानकारी आइसकेको छ र त्यसबारे रानी जानकार छिन्। बीबीसीका अनुसार आइसीयुमा राखिएका जोन्सनको होस गुमेको छैन र उनलाई भेन्टिलेटरमा राखिएको छैन। कोरोना भाइरसबाट उनको स्वास्थ्यमा परेको समस्याबारे सबै विवरण चिकित्सकले हेरिरहेका छन्।
कोरोना संक्रमणमा भाइरसले सिधै फोक्सोमा आक्रमण गरेर सास लिन अप्ठ्यारो बनाउने गरेको छ।
बेलायती प्रधानमन्त्री आइसीयुमा भर्ना भएको समाचार फैलिएलगत्तै उनको स्वास्थ्य लाभको कामना आइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे केही नभने पनि उनको छोरी तथा सल्लाहकार इभानाले स्वास्थ्य लाभको कामना गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।