काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले संचालन गर्दै आएको कालीमाटी बजारभित्र उपभोक्ताको भिडभाढ बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै खुद्रा व्यापारीलाई तरकारी किन्न रोक लगाइयो। यसपछि उपभोक्तालाई सहज पार्न भन्दै काठमाडौं महानगरपालिकाले महानगरभित्रका ११ स्थानमा अस्थायी फलफूल तथा तरकारी बजार राख्ने भएको छ।
महानगरपालिकाले सोमबार गरेको निर्णयअनुसार कलंकी, बाफल, स्वयम्भु, वनस्थली, गोंगबु, बसुन्धारा, गोपीकृष्ण हल, तिनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वरमा अस्थायी तरकारी बजार राख्न लागेको हो।
यी ११ स्थानका चोकमा तरकारी बजार राखिने महानगरपालिकाले जनाएको छ।
बजार क्षेत्रभित्र अत्यधिक भिडभाड बढेकै कारण कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गत शनिबारदेखि लकडाउन अवधिभर खुद्रा बजार बन्द गर्ने निर्णय गरेको थियो।
खुद्रा व्यापार गर्न नपाउने र थोक व्यापारीलाई मात्र बजारभित्र प्रवेश दिने निर्णय भएपनि त्यसले बजार क्षेत्रको भिडभाड भने रोकिएको थिएन। महानगरले बनाउन लागेको अस्थायी बजारमा खुद्रा र थोक दुवै थरी कारोबार हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।