काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण सेमिफाइनलमा नै रोकिएको पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट खेलेर नै सकाउने योजना बनिरहेको पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वासिम खानले बताएका छन्।
‘हामी अहिले बाँकी रहेका तीन खेल कहिले गर्न सकिन्छ भनेर नयाँ तालिका खोजिरहेका छौँ, र यो वर्षको अन्त्यसम्ममा त्यो दिन निस्कन्छ भन्नेमा हामी विश्वस्त पनि छौँ’, वासिम खानलाई उद्धृत गर्दै क्रिकइन्फोले लेखेको छ, ‘पहिले त प्रतियोगिताका बाँकी खेल सकाएर नै विजेता निकाल्ने यकिनका साथ बढेमा दुई वटा मिति निस्कन सक्ने देखिन्छ।’
सेमिफाइनल र फाइनल खेल रोकिएको प्रतियोगितामा विजेता कसरी छनोट गर्ने भन्ने विषयमा दुविधा देखिइरहेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) त्यसका लागि छलफलमा जुटेको छ। खेल पुनः सञ्चालन गर्नसक्ने अवस्था अहिले नभए पनि कोरोनाको संक्रमण रोकिएपछि प्रतियोगिता गर्न केही दिन निकाल्न सकिने गरी छलफल भइरहेको हो।
पिएसएलमा पहिले तय भएको खेल तालिकामा चार दिन छोट्याएर प्रतियोगिता गरिरहँदा पनि एक विदेशी खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सेमिफाइनल खेल स्थगित गरिएको थियो। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वासिम खानले नै सञ्चार माध्यमसँग कुरा गर्दै कठीन परिस्थितिमा प्रतियोगिता अघि बढाउन नहुने भनेका थिए।
टिमहरु मुल्तान सुल्तान र पेसेवर जाल्मी साथै कराची किंग्स र लाहोर क्वालन्डर्सबीच सेमिफाइनल खेल हुने भनिएको दिन नै प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको निर्णय आएको थियो। अब खेल हुन नसक्ने स्थिति बनेकाले प्रतियोगिताको विजेता लिग चरणमा शीर्ष स्थानमा रहेको टिमलाई नै बनाउनुपर्ने कुरा आइरहेका थिए। तर त्यसमा सबै टिम सहमत हुन सकेका छैनन्।
लिग तालिकाको अवस्थालाई हेर्दा मुल्तान सुल्तान १० खेलमा १४ अंकसहित शीर्ष स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।