काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले आयोजनाको म्याद थप गर्न आग्रह गरेको छ। विश्वव्यापी महामारीको रुपमा रहेको कोराना भाइरस (कोभिड- १९)का कारण हाल देशभर चैत ११ देखि २५ गतेसम्म मन्त्रिपरिषद्को निर्णयअनुसार भएको लकडाउनका कारण रोकिएको आयोजनाको म्याद थप गर्न महासंघले आग्रह गरेको हाे।
सबै खरिद प्रक्रियाहरुको म्याद एक महिना थप गर्ने निर्णय गरेको र सार्वजनिक खरिद अनुगमन कार्यालयको चैत १७ मा म्याद थपका लागि प्रकाशित सूचनालाई समेत आधार मानेर निर्माण कार्यका लागि केही सार्वजनिक निकायहरुले खरिद प्रक्रियाहरु जस्तैः बोलपत्र आह्वान, बोलपत्र खरिद र दाखिला गर्ने तथा कामको सम्झौवातालगायतका कार्य कायम राखेको प्रति महासंघले शुक्रबार अपिल जारी गरेको हो।
निर्माण व्यवसायीहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसकिने अवस्थामा बैंक ग्यारेण्टीलगायतका कागजात तयार गर्न नसकिने भएकोले निर्माण कार्यका सबै खरिद प्रक्रियाहरुमा भाग लिन सक्ने अवस्था नरहेकोले खरिद प्रक्रियामा स्वच्छ प्रतिस्पार्धासमेत हुन नसक्नेभन्दै सबै सार्वजनिक निकायहरुमा निर्माण कार्यको खरिद प्रक्रिया रोक्न महासंघले अनुरोध गरेको महासचिव रोशन दाहालले जानकारी दिए।
लकडाउनको समयमा अत्यावश्यक सेवाबाहेकका खरिद प्रक्रियाको लागि आह्वान भएका देशभरका सम्पूर्ण खरिद प्रक्रियाको म्याद लकडाउन हटेको न्यूनतम १५ दिन पछिसम्म थप गरिदिने व्यवस्थाका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारअन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायहरुलाई महासंघ अनुरोध गरेको हाे। सबै निर्माण व्यवसायी सदस्यहरूले लकडाउनलाई सहयोग हुने गरी आ-आफ्नो तर्फबाट सम्बन्धित सार्वजनिक निकायहरुमा याे अपिलअनुसार पहल गर्न समेत महासंघले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।