काठमाडौं- नेपाल टेलिकमले ब्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरेको छ। लकडाउनका कारण ग्राहकहरुलाई समस्या परेको भन्दै कम्पनीले आफ्नो ब्यालेन्स ट्रान्सफर, टपअप तथा भुक्तानीको सुविधामा केही परिमार्जन गरेको हो।
यसअनुसार हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा युएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था छ।
यसलाई परिमार्जित व्यवस्थाअनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुई सय रुपैयाँसम्म ब्यालेन्स ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ।
टेलिकमले महसुल भुक्तानी तथा टपअप सहज बनाउन भुक्तानी र टपअपको व्यवस्थामा परिवर्तन गरेको छ। यसअन्तर्गत कम्पनीका आधिकारिक एमपिओएस सेवा प्रदायकहरु तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआइओएसके मेसिनहरुमा गई कम्पनीको सेवाको महसुल भुक्तानी गर्न सकिन्छ।
यसैगरी भुक्तानी सेवा प्रदायकहरुका एप प्रयोग गरी कम्पनीका सेवाहरुको महसुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिने पनि कम्पनीले जनाएको छ। विभिन्न बैंकमा भएका खाताबाट अनलाइन बैंकिङ वा मोबाइल बैंकिङक सुविधा लिइ सोही बैंकका सेवा प्रयोग गरी कम्पनीको महसुल भुक्तानी गर्न सकिने पनि टेलिकमले जनाएको छ।
डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग गरी कार्ड पे डट एनटिसी डट नेट डट एनपीमा लगअन गरी आफूले चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्न सकिने र त्यसैबाट भुक्तानी गर्न सकिने पनि कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।