काठमाडौं- यस वर्ष हुने भनिएको ‘एनसिसिएस-सिप्यान क्रिकेट अवार्ड’ को सबै रकम कोरोना भाइरस (कोभिड-१९) संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना भएको कोषमा सहयोग गर्ने भएको छ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रेस विज्ञप्ति निकाल्दै अवार्डको सम्पूर्ण रकम चार लाख ६२ हजार रुपैयाँ कोरोना भाइरस (कोभिड-१९) विरुद्धको कोषमा दिने जानकारी दिएको हो। योसँगै सिप्यानले यस वर्ष को अवार्ड कोरोनाकै कारण नगर्ने भएको छ। सिप्यानको विज्ञप्तिमा अवार्डको अर्को संस्करण २०२१ म हुने समेत जानकारी दिएको छ।
सिप्यानले विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्दै आएको छ। जसमा वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड छन्। सिप्यानले अवार्ड कार्यक्रम नगरी त्यो बजेट विपतमा सहयोग गर्न लागेको हो।
सिप्यानको कार्यतालिका अनुसार चैत २१ गते अवार्ड आयोजना गर्ने कार्यक्रम थियो। तर कोरोना भाइरसको कारण अनिश्चित कालको लागि स्थगित गरेको थियो। सहयोगको घोषणा गर्दै सिप्यानले विश्वमै संकटको रुपमा फैलिएको कोरोनाविरुद्ध लड्न सबैलाई एकबद्धता हुन पनि अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।