काठमाडौं- पाकिस्तान सुपर लिग (पिएसएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करण बीचमै रोकिएको दुई हप्ता पुग्यो। कारण उही विश्वभर माहामारी बनिरहेको कोरोना भाइरस (कोभिड १९) नै। रोकिएको प्रतियोगिताले विजेता नपाउँदा तनाब बढेको छ।
सेमिफाइनल र फाइनल खेल रोकिएको प्रतियोगितामा विजेता कसरी छनोट गर्ने भन्ने विषयमा अहिले दुविधा देखिएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) त्यसका लागि छलफलमा जुटेको छ। किनभने खेल पुनः सञ्चालन गर्नसक्ने अवस्था अहिले छैन। कोरोनाको संक्रमण रोकिएपछि प्रतियोगिता गर्न पनि क्रिकेटको व्यस्त तालिकामा सम्भव हुँदैन।
पिएसएलमा पहिले तय भएको खेल तालिकामा चार दिन छोट्याएर प्रतियोगिता गरिरहँदा पनि एक विदेशी खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सेमिफाइनल खेल स्थगित गरिएको थियो। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वासिम खानले नै सञ्चार माध्यमसँग कुरा गर्दै कठीन परिस्थितिमा प्रतियोगिता अघि बढाउन नहुने भनेका थिए।
टिमहरु मुल्तान सुल्तान र पेसेवर जाल्मी साथै कराची किंग्स र लाहोर क्वालन्डर्सबीच सेमिफाइनल खेल हुने भनिएको दिन नै प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको निर्णय आएको थियो। अब खेल हुन नसक्ने स्थिति बनेकाले प्रतियोगिताको विजेता को हुने भन्ने बहस चलिरहेको हो।
अझै पनि नयाँ तालिकामा खेल सञ्चालन गर्न सकिन्छ कि भन्ने विषयमा कुराकानी भइरहे पनि अहिलेकै अवस्थालाई हेर्दा त्यो सम्भव देखिँदैन। अर्को त सकिएका लिग खेलहरुको आधारमा शीर्षमा रहेको टिमलाई नै विजेता मान्ने भन्ने बारेमा पनि कुराकानी भइरहेका छन्। यसमा पिसिबीले आन्तरिक रुपमा छलफल गरिरहेको छ। छलफलपछि सम्भव हुने विकल्पहरु ल्याएर टिमसँग कुराकानी गरिँदैछ।
कोरोना संक्रमणको जोखिम सकियो भने नोभेम्बरमा केही दिन समय निस्कने देखिए पनि सम्पूर्ण सरोकारवालासहित १६ विदेशी खेलाडीको समय पनि त्यही बेला मिलाउन र पुनः सबैलाई एक ठाउँमा जम्मा गर्न कठीन नै हुन्छ।
पिसिएलबाहेक पनि पाकिस्तान र बंगलादेशको सिरिज र घरेलु एकदिवसीय प्रतियोगिता पनि स्थगित नै भएको छ। त्यसका साथै पाकिस्तान राष्ट्रिय टिमको इंग्ल्याण्ड भ्रमण पनि अनिश्चित बनेको छ।
पिएसएललाई लिएर भइरहेको छलफलमा यदि नयाँ मितिमा रोकिएका खेल गर्न सम्भव नभए अहिले लिगमा शीर्ष स्थानमा रहेको टिमलाई नै विजेता बनाउने गरी कुराकानी तीब्र भएको छ।
लिग तालिकाको अवस्थालाई हेर्दा मुल्तान सुल्तान १० खेलमा १४ अंकसहित शीर्ष स्थानमा रहेको छ। यसैले पनि मुल्तान सुल्तानका बलिङ प्रशिक्षक मुस्ताक अहमद आफ्नो टिम विजेता बन्नुपर्ने बताइरहेका छन्।
‘पिएसएलको अन्त्य सुखद रुपमा विजेता घोषणा गरेर गर्ने हो भने लिग तालिकाको आधारमा शीर्षमा रहेको टिमलाई उपाधि दिनुपर्छ’, मुस्ताकले भनेका छन्, ‘अर्को कुरा अहिले त्यसो गर्न सकिँदैन भने अर्को सिजनको पिएसएल सुरु हुनुअघि अहिलेका बाँकी खेल खेलाउन पनि सकिन्छ होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।