काठमाडौं- आन्द्रे रसेल एक सर्वोत्कृष्ट वेष्ट इन्डिजका टि-२० क्रिकेटर हुन्। उनी जब ब्याटिङ गर्छन्, आफ्ना दर्शकलाई मात्रै होइन, विपक्षी टिमका खेलाडी र दर्शकको पनि मन जित्न सफल हुन्छन्। ब्याटिङ मात्रै होइन, बलिङमा पनि उस्तै दखल छ, उनको।
वेष्ट इन्डिजका टिम मेट ड्वायन ब्राभोले आन्द्रे रसेलको बारेमा खुलेर प्रशंसा गरेको छ। वेष्ट इन्डिजका लागि मात्रै होइन, सिंगो क्रिकेट जगतका लागि क्रिस गेल र ब्रायन लारा भगवान जस्तै हुन्। पूर्व कप्तान समेत रहेका ब्राभोले आन्द्रे रसेल वेष्ट इन्डिजका लागि क्रिस गेल र ब्रायन लारा जस्तै भएको बताएका छन्।
ब्राभोले भनेका छन्, ‘हामी खुसी हुनुपर्छ कि उनी हाम्रो टिममा छन्। टि–२० क्रिकेटमा रसेल अहिले हाम्रो क्रिस गेल हुन्, हाम्रो ब्रायन लारा। उनी टि–२० क्रिकेटका सुपर स्टार हुन्।’
यही महिना श्रीलंकामा भएको टि–२० सिरिजमा रसेलले त्यसै चमत्कारी प्रदर्शन गरेका थिए। उनले पहिलो खेलमा १४ बलमा ३५ रन बनाएका थिए भने दोस्रो खेलमा १४ बलमा ४० रन जोडेका थिए। उनकै उत्कृष्ट प्रदर्शनमा वेष्ट इन्डिजले श्रीलंकाविरुद्ध दुई खेलको सिरिज ‘क्लिन स्वीप’ गरेको थियो।
सन् २०१५ मा टेष्ट क्रिकेटबाट सन्यास लिएका ब्राभोले २०१८ मा आएर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। सन् २०१६ को टि–२० विश्वकप वेष्ट इन्डिजले जित्दा मुख्य भूमिका खेलेका ब्राभो २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकपपछि सन्यास लिने तयारीमा थिए। तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वकप पनि अन्यौलमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।