काठमाडौं- इटालियन क्लब युभेन्टसका खेलाडी तथा प्रशिक्षकहरु चार महिना तलब रोक्न राजी भएका छन्। कोरोना भाइरस (कोभिड १९) कारण फुटबल गतिविधि ठप्प हुँदा क्लबहरु आर्थिक संकटमा परिरहेका छन्। यस्तोमा युभेन्टसका खेलाडी र प्रशिक्षकले तलब चार महिना रोक्न राजी भएका हुन्।
प्रशिक्षक मोउरिसियो सारीसँगै खेलाडीहरुले चार महिना तलब रोक्न सहमति जनाउँदा युभेन्टसको झण्डै ९० मिलियन युरो बचत हुने भएको छ। इटालीमा कम्तिमा अप्रिल ३ सम्मका लागि सबै खेल गतिविधिहरु रोकिएका छन्।
युभेन्टसमा मात्रै होइन युरोपभर नै क्लबहरु आर्थिक संकटमा छन्। खेल नहुँदा आम्दानीका सबै बाटो बन्द भएका छन्। धेरै क्लबहरुले खेलाडीको तलब कम गर्नेदेखि तलबमा ढिलाइ गर्ने निर्णयहरु गरिरहेका छन्।
च्याम्पियन्स लिग र युरोपा लिगबाहेक पनि युरोपभर लिग फुटबलले आफ्नो विजेता टिम पाएको छैन। युरोकप फुटबल २०२१ मा गर्नेगरी मिति सरेकाले आउँदो सिजन पनि त्यसअघि नै सकाउनुपर्नेछ। प्रिमियर लिग, ला लिगा, सिरि ए, लिग वान, बुण्डेसलिगा जस्ता लिगका क्लबहरु आर्थिक संकटमा पनि परिरहेका छन्।
युरोपभरका क्लबमा खेलाडीको तलब कम हुने निर्णयहरु भइरहेका बेला इंग्लिस प्रिमियर लिग, इंग्लिस फुटबल लिग र प्रोफेसनल फुटबलर्स एशोसियसनले ‘केही अप्ठ्यारो निर्णय लिनुपर्ने अवस्था आएको’ भन्दै शनिबार संयुक्त विज्ञप्ती निकालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।