काठमाडौं- विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण भारत पनि समस्यामा छ। विश्वभर स्थगित भएका र मिति सारिएका खेल प्रतियोगिता जस्तै इन्डियन प्रिमियर लिग (आइपिएल) १८ दिन पछि सर्ने निर्णय भएको छ। यसअघि चैत १६ गतेदेखि गर्ने भनिएको प्रतियोगिता वैशाख ३ गतेका लागि नयाँ मिति तोकिएको हो। तर नयाँ मितिमा नै पनि खेल गराउन सक्ने स्थिति देखिँदैन।
बन्द स्टेडियममा खेल गर्ने कि प्रतियोगिता सार्ने भन्ने विषयमा भएको छलफलपछि मिति सार्ने निर्णय भएको थियो। कोरोनाले महामारीको रुप लिनुअघि भारत सरकारले खेल स्थगित नगर्ने तर मानिसहरु धेरै जम्मा हुने काम नगर्न भनेपछि बन्द स्टेडियममा खेल गर्ने गरी सम्बन्धितहरु लागिपरेका थिए।
विश्व खेलकुदमा परिरहेको असर आइपिएलमा नपर्ने भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले यसअघि बताइरहे पनि विश्व स्वास्थ्य संगठनले नै महामारी घोषणा गरेका कारण प्रतियोगिता सार्ने निर्णयमा पुगेको थियो।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिसकेको छ। जसमा भारतमा नै आइतबार बिहानसम्म ९ सय ८७ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसैका कारण २४ जनाको ज्यान गइसकेको छ। भारतभर २१ दिनको लकडाउनको घोषणा गरिएको छ। त्यो सयम अझ बढ्ने नै देखिन्छ। यस्तोमा दर्शकको अधिक भिडभाड हुने आइपिएल जस्तो प्रतियोगिता गर्ने अडान लिनु राम्रो नभएको खेल सम्बद्धहरुले नै बताएका छन्।
कोरोना भाइरस रोकथाम नभएमा यसले भारतभर मात्रै होइन दक्षिण एसियामा नै पार्ने असरले स्वास्थ्य सेवामा ठूलो संकट आउने देखिन्छ। दक्षिण एसियाली देशहरु एकजुट भएर अगाडि बढ्नेबारे कुराकानी गर्न सबै देशबीच भिडियोमार्फत गएको हप्ता बैठकसमेत भएको थियो।
भारतमा त केन्द्र सरकारलाई सहयोग गर्न सार्वजनिक रुपमा नै सबैसँग आह्वानसमेत भएको छ। जसमा केही व्यापारीका साथै बलिवुडका कलाकारहरुले सहयोग गरिरहेका छन्। तर यही मामलामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को भने निकै आलोचना भइरहेको छ।
विश्वकै सबैभन्दा धनि क्रिकेट संस्था बिसिसिआईले यस्तो कठिन परिस्थितिमा सहयोगका लागि अपिल गर्ने र सहयोगमा अगाडि बढ्नेभन्दा पनि पैसा कमाउने ध्याउन्नमा आइपिएल गर्ने भन्दै प्रचारबाजी गर्नु दुःखद भएको भन्दै भारतमा नै आलोचना भइरहेको हो।
सामाजिक सञ्जालमा त सेम अन बिसिसिआई का रुपमा ट्रेन्ड नै भइरहेको छ। क्रिकेटर सचिन तेन्दुलकरले ५० लाख रुपैयाँ सहयोग गर्ने कुरा आइरहँदा अरु धेरै आयभएकाहरु मौन छन्।
‘ती सबै क्रिकेट खेलाडीहरु कहाँ छन् जो करोडौँ रुपैयाँ कमाउँछन्। अहिले त क्षमताअनुसार गरिब मानिसहरु पनि दान गरिरहेका छन्, तर तथाकथित धनीहरु आफ्नो घरमा बसेर मोजमस्ती गरिरहेका छन्। अब त केही लाज मान्नुस र सहयोगका लागि अघि आउनुस्’ ट्वीटरमा विपिन त्रिपाठीले लेखेको ट्वीट बिबिसी हिन्दीले साभार गर्दै उल्लेख गरेको छ।
यस्ता प्रतिक्रियाहरु निकै बढ्दै गएपछि बिसिसिआईका सचिव र केन्द्रिय गृहमन्त्री अमित शाहका छोरासमेत रहेका जय शाहले ट्वीटमार्फत नै उद्घोष गरे– ‘कोरोनाविरुद्ध लड्न सहयोग होस् भन्ने हेतुले बिसिसिआई ५१ करोड रुपैयाँको आर्थिक सहयता गर्दैछ।’ तर उनको घोषणा यति ढिलो गरी भयो कि मानिसहरुको आलोचना निकै फैलिसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।