काठमाडौं- युरोपका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका ९ सय ९ जना नागरिक उनीहरुकै देश फर्किएका छन्। शुक्रबार र शनिबार गरी ३ वटा उडानबाट युरोपका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका नागरिकलाई उनीहरुको दूतावासले जहाज चार्टर गरेर फिर्ता लगेको हो।
युरोपका विभिन्न देशबाट नेपालको विभिन्न भूभागमा रहेका नागरिकलाई खोजी गर्दै काठमाडौं ल्याउने काममा नेपाल पर्यटन बोर्डले नेतृत्वदायी भूमिका लिएको थियो।
शुक्रबार जर्मन दूतावसले कतार एयरवेजको ए३३० वाइडबडी जहाज चार्टर गरेर ३ सय ४ जना नागरिक लगेको थियो। यसैगरी, शनिबार पनि जर्मन दूतावासले कतार एयरवेजकै जहाज चार्टर गरेर ३ सय ३ जर्मन नागरिक आफ्नो देश लगको छ भने फ्रान्सेली दूतावासले पनि शनिबार नै कतार एयरवेजको जहाज चार्टर गरे ३ सय २ नागरिक आफ्नो देश लगेको हो।
अष्ट्रेलियाले अप्रिल १ मा लैजाने
अष्ट्रेलियाले पनि नेपालमा रहेका आफ्नो देशका नागरिक फिर्ता लैजाने भएको छ। अष्ट्रेसलियाले अहिले नेपालमा रहेका आफ्ना नागरिकलाई काठमाडौंमा उद्धार गरेर ल्याउन थालेको छ।
काठमाडौंमा उद्धार गरिका आफ्ना देशका नागरिक लैजान अष्ट्रेलियन दूतावासले नेपाल एयरलाइन्सको जहाज चार्टर गरेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज अष्ट्रेलिया लैजाने गरी चार्टरको तयारी भएको नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीप जुर्वाचनले जानकारी दिए।
‘अप्रिल १ तारिक अष्ट्रेलिया जाने फिक्स भएको छ,’ उनले भने ‘वाइडबडी जहाज नै प्रयोग हुन्छ।’ नेपाल एयरलाइन्ससँग अहिले दुई वटा वाइडबडी जहाज छ। शनिबार मात्रै एउटा वाइडबडी चीनको गौन्जावा मेकिडल सामान लिन गएको छ। जुन जहाज आज राती नै नेपाल आइपुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।