धनगढी- नेपाल राष्ट्र बैंकको निर्देशनपछि लकडाउनका बीच पनि धनगढीका अधिकांश बैंकले आज ११ बजेदेखि सेवा सुचारु गरेका छन्। काउन्टर र एटिम खुला गरेका बैंकहरुले ग्राहकहरुलाई आवश्कयताका आधारमा रकम भुक्तानी दिन थालेका हुन्।
लकडाउनका कारण आर्थिक कठिनाई झेलिरहेका ग्राहकको सुविधाका लागि राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले सेवा दिन थालेका हुन्। सेवा लिँदा र दिँदा ग्राहक र कर्मचारीबीच मात्र नभएर ग्राहकहरुका बीचमा पनि सामाजिक दूरी कायम गरिएकाे छ।
बैंकहरुले सिमित कर्मचारीको उपस्थितिमा ११ बजेदेखि १ बजेसम्म काउण्टर खुला राखेका छन्। अस्पताल लाइनमा रहेको एनआईसी बैंकका प्रबन्धक शिवराज पाठकले १३ जना कर्मचारीमध्ये चारजना कर्मचारीको उपस्थितिमा सेवा सुचारु गरेको बताए।
यद्यपि फिल्डमा खटिएका सुरक्षाकर्मीहरुलाई बैंकहरु खुला रहने सूचना सर्कुलर नहुँदा भने केही समस्या भएको थियाे।
नगढीको मिलनचौकबाट कार्यालय आउँदै गरेका कुमारी बैंकका कर्मचारी चढेको गाडी सुरक्षाकर्मीले लकडाउन उल्लंघन गरेको आरोपमा रोकेका थिए। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बैंकका कर्मचारीलाई उनीहरुको परिचयपत्रका आधारमा आवातजावत गर्न दिने व्यवस्था मिलाइएको बताए।
बैंकर्स क्लब धनगढीका पूर्वअध्यक्ष टेकराज भट्टले बैंकका कर्मचारीहरुलाई आवातजावतमा कठिनाई भएकोले आवातजावतको सहज व्यवस्था गरिदिन प्रशासनसँग आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।