काठमाडौं- चीनले नेपाल पठाएको २ हजार थान मेडिकल किट शनिबार मात्रै काठमाडौं आइपुग्ने भएको छ। बिहीबार सामान लोड गर्न ढिलाइ भएका कारण निर्धारित समयभन्दा एकदिन ढिलो गरी काठमाडौंमा सामान आउने भएको हो।
सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै ती सामान नेपाल भित्रिनेछन्। 'मैले केही समयअघि सम्पर्क गर्दा उनीहरु आउन केही ढिलो हुने जानकारी पाएको छु,' तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले भने, 'आज खासामा सामान आउने र भोलि विहान जाँचपास गर्ने तयारी भएकोमा अब भोलि विहान मात्रै सामान आइपुग्ने भयो, सामान आएलगत्तै जाँचपास गरेर हामी सामान काठमाडौं पठाउछौँ।'
चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै तातोपानी र रसुवागढी नाका बन्द गरिएको थियो। चीनबाट यी मेडिकल किट आउन लागेसँगै भन्सार पनि खुलेको छ। 'चीनबाट आउने सामानमा हामी डिसइन्फेक्सन स्प्रे छर्केपछि मात्रै काठमाडौं पठाउछौँ,' खत्रीले भने, 'त्यसका लागि स्वास्थ्यको टोली तयारी अवस्थामा छ, हाम्रो कार्यालय पनि सुरक्षित बनाइसकेका छौँ।'
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्यसम्बन्धि प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय समितिले गरेको थियो। यसैअनुसार दुई नाका खुल्न लागेका हुन्।
नाका खुलाउने विषयमा बिहीबार अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल भएको थियो। त्यसैअनुसार सबै मन्त्रालयले मातहतका निकाय परिचालन गरेर नाका सञ्चालनको व्यवस्था मिलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।