काठमाडौं- कोरोना भाइरसको संक्रमण रोक्न स्वास्थ्य मन्त्रालयले हरेक दिन भेटघाट गर्दा एक व्यक्ति र अर्को व्यक्तिबीचको दूरी कम्तीमा एक मिटर कायम गर्न आग्रह गरिरहेको छ। सकेसम्म नजिक नहुन, नजिक भए पनि एक मिटरको दूरी कायम गर्न भने पनि सरकारी निकायका अधिकारी नै यसप्रति सचेत देखिँदैनन्।
सामूहिक भेटघाटमा उनीहरू न सामाजिक दुरी कायम गरेर बस्छन्, न मुखमा माक्स नै प्रयोग गर्छन्। बिहीबार गृह मन्त्रालयकै एक दृष्य हेरौं जहाँ गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसँगै नव नियुक्त तीन एआइजी तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल थिए।
सरकारले सामाजिक दूरी कायम गराउने भनेर मुलुकभर लकडाउन छ। लकडाउनका बेलामा एक अर्कासँग नभेट्न र भेट्नै परे दुरी कायम गर्न आग्रह गरिरहेको छ सरकार। लकडाउन कायम गराउने जिम्मेवारी पाएको सुरक्षा निकायका नेतृत्वकर्ता नै निर्देशनप्रति सचेत देखिन्नन्।
बिहीबार सार्वजनिक भएको तस्बिरमा गृहका अधिकारीहरू कुममा कुम जोडेर उभिएका थिए। कसैको मुखमा माक्स थिएन।
बुधबार नवनियुक्त तीन एआइजीलाई दर्ज्यानी चिन्ह लगाउन आयोजित कार्यक्रमको दृष्य पनि यस्तै थियो। न कसैले माक्स लगाएका थिए, न एक मिटरको दुरी नै कायम गरेका थिए।
यस्तो किन? प्रहरी प्रवक्ता उमेश जोशीले यसबारेमा प्रहरी संवेदनशील रहेको बताए। कहीँकतै कुनै त्रुटि देखिए आगामी दिनमा सुधार गर्ने प्रतिबद्दता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।