काठमाडौं—प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी भएको धनुषा विस्फोट घटनाका एक अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका—३ तेजनगर बस्ने ३५ वर्षीय गंगा मण्डल खत्वे छन् । उनलाई प्रदेश २ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको टोलीले पक्राउ गरेको हो।
२०७६ मंसिर २८ गते क्षिरेश्वरनाथ नगरपालिका-५ कुचियाही टोल बस्ने राजेश साहको घरमा मण्डलसहितको टोलीले बिस्फोट गराएको थियो । सो क्रममा राजेश साहसहित उनका छोरा उन्नत र प्रहरी निरीक्षक अमीर दाहालको ज्यान गएको थियो।
उक्त बिस्फोटन घटनामा संलग्न अन्य व्यक्तिलाई भने प्रहरीले यसअघि नै पक्राउ गरेको थियो। मण्डल भने फरार हुँदै आएका थिए। बिस्फोट गराउने उनीहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। आर्थिक सहयोग गर्न नमानेपछि उनीहरुले साहको घरमा बस बिस्फोट गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।