काठमाडौं- प्रदेश १ का विभिन्न ४४ स्थानमा ९ सय ८९ क्वारेन्टाइन बेड बनाइएको छ। प्रदेशका मुख्यमन्त्री शेरधन राईले बुधबार सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन्।
'हामीले विभिन्न ४४ स्थानमा ९ सय ८९ क्वारेन्टाइन बेड निर्माण गरेका छौं। यी क्वारेन्टाइनमा भारतीय र अन्य नाकाबाट नेपाल प्रवेश गरेकालाई राखिएको छ,' मुख्यमन्त्री राईले भने। प्रदेश सरकारले योजना बनाएर काम गरेको दाबी गरेका मुख्यमन्त्री राईले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारले २३ बुँदे कार्ययोजना बनाएर काम गरेको बताए। तीनै तहका सरकार सुरक्षा निकायसँग सहकार्य गरी नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने समेत उनले बताए।
'प्रदेशबाट १९ जना आशंकितको नमूना पठाएका थियौं। सबैको रिपोर्ट नेगेटिभ आएको छ,' उनले भने, 'प्रदेश सरकार १० करोड रूपैयाँमा कोरोना भाइरसको संक्रमण तथा जोखिम न्यूनीकरणका लागि कोरोना जनसुरक्षा कोष खडा गरेको छ। राज्यमन्त्रीसहित मन्त्रीपरिषद्का सबै सदस्यको तर्फबाट एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।'
यसैगरी कोषमा सभामुख र उपसभामुखले समेत १ महिना पारिश्रमि उपलब्ध गराउने उनले जानकारी दिए।
'यतिबेला सिंगो देश नै लकडाउनमा छ। लकडाउन देशको लागि र सबैको सुरक्षाको लागि हो। अहिलेको यो परिस्थितिको सामना गर्न हामी सबै एकजुट हुनुको विकल्प छैन,' उनले भने, 'यो परिस्थितिमा तपाईहरुले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ। आउनुहोस् कोरोना भाइरस जस्तो विश्व महामारीको विरुद्ध एकजुट भएर सामना गरौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।