काठमाडौं- नेपाल टेलिकमले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा मोबाइल सेवाको प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शतप्रतिशत बोनसको व्यवस्था गरेको छ। यो अफर चैत १३ गतेबाट ७ दिनसम्म लागू हुनेछ।
जिएसएम र सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुने टेलिकलमले जनाएको छ।
यसरी प्राप्त गरेको बोनस रकमबाट प्याकेजबाहेकको दररेटअन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डेटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन नसकिने टेलिकमले जनाएको छ।
रिचार्ज कार्ड प्रयोग गरी ५० र रु १०० को रिचार्ज गर्दा प्राप्त हुने बोनस रकम २ दिनभित्र खपत गरिसक्नुपर्छ भने २ सय र ५ सयको रिचार्जमा प्राप्त हुने बोनस रकम ४ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकलमे जनाएको छ।
त्यसैगरी १ हजारको रिचार्जमा प्राप्त हुने बोनस रकम ६ दिनभित्र खपत गरिसक्नु टेलिकमले जनाएको छ।
एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत १० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस २ दिनभित्र खपत गरिसक्नुपर्नेछ भने १०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस ४ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकलमे जनाएको छ।
यसैगरी ५०० देखि ९९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने बोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने १००० वा सोभन्दा माथिको रिचार्जमा प्राप्त हुने बोनस १० दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।