काठमाडौं- प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
एआइजीहरु तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। मन्त्रीपरिषदको २०७६ चैत ९ गतेको निर्णयले उनीहरुलाई एआइजीमा बढुवा गरेको थियो।
प्रहरी महानिरीक्षक ज्ञवालीले उनीहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपछिको सांगठनिक योगदान थप महत्वपूर्ण हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको प्रदर्शन गरी काम गर्नुपर्ने बताए।
प्रहरी अधिकृतहरुको मेहनत, लगनशीलता, इमानदारिता र प्रष्ट सेवाभावको कदरस्वरुप पदोन्नति भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले संगठनलाई थप चलायमान बनाउनेतर्फ लाग्नुपर्ने उनले बताए।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड-१९) को प्रकोपलाई नेपाल प्रहरीले धैर्यता, निष्पक्षता, सहनशीलताका साथ आफूलाई प्राप्त सीप परीक्षण गरेर देखाई नेपाल प्रहरीको जनता र राष्ट्र सेवा गर्ने अवसरको रुपमा स्वीकार गर्नुपर्ने उनले बताए।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले व्यवसायिक क्षमता, नागरिक र राष्ट्रप्रतिको सेवाभावको मूल्यांकन स्वरुप भएको पदोन्नतिले थप जिम्मेवारी बोध भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।