काठमाडौं- माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोष कोइराला नियुक्त भएका छन्। सोमबार बसकेको सञ्चालक समितिको बैंठकले आगामी बैशाख एक गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा काेइरालालाई नियुक्त गरेको हो।
बैंकको सञ्चालक समितिको बैंठकले यस अगाडिका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई अवकाशपत्र थमाएर कोइरालालाई कामू कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो। कोइराला दुई दशक भन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन्।
शर्मालाई फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले हटाउने निर्णय गरेको थियो। सञ्चालक समितिले २१ महिना अगाडि चार वर्षका लागि शर्मालाई सिइओमा नियुक्त गरेको थियो। शर्माभन्दा अगाडिका सिइओ निरज श्रेष्ठले पनि कार्यकाल नसकिँदै राजीनामा दिएका थिए। श्रेष्ठले राजीनामा दिएपछि सञ्चालक समितिले शर्मालाई ग्लोबल आइएमई बैंकबाट तानेको थियो।
लगातार दुई प्रमुख कार्यकारीले नै कार्यकाल पूरा नहुँदै छोड्ने अवस्था आएको हो।
बैंकहरुका सञ्चालक समितिले सिइओहरुलाई व्यवसाय विस्तारको दबाब दिँदै आएका छन्। सञ्चालकको टार्गेट पूरा गर्न नसक्दा कि त आफैं बाहिरिने अथवा सञ्चालकहरुले नै दबाब दिने अवस्था सिर्जना भएको छ।
बैंकको प्रमुख सेयरधनीहरुमा एनआरएन समूहको मुख्य लगानी छ। सञ्चालक समितिको अध्यक्षमा वीरेन्द्र प्रसाद महतो छन्। बैंकमा उनको ०.६१ प्रतिशत सेयर छ। त्यस्तै सुरेन्द्र महतोको सेयर १२.४७ प्रतिशत छ। एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको ९.१४ प्रतिशत सेयर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।