काठमाडौं- फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीसँगै विमानमा यात्रा गरेका १२५ जना यात्रुको पहिचान भएकाे नेपाल प्रहरीले जनाएकाे छ। चैत ४ गते कतार एयरवेजको विमानमार्फत् कारोना संक्रमित युवतीसँगै काठमाडौं उत्रिएका उनीहरुको पहिचान गरिएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले नेपाल लाइभलाई जानकारी दिए।
क्षेत्रीका अनुसार ती युवतीसँगै आएका अन्यको विवरण प्रहरीले अध्यागमनसँग मगाएको थियो। सोही अनुसार अध्यागमनले १५८ जनाको नामकाे सूची पठाएको उनले बताए। ती मध्ये १२५ जनाको ठेगाना प्रहरीले पहिचान गरिसकेको हाे। ‘उनीहरुको ठेगानाअनुसार स्थानीय प्रहरी र प्रशासनको सहयोगमा सेल्फ क्वोरेन्टाइनमा राख्ने तयारी भइरहेको छ’ प्रवक्ता क्षेत्रीले भने, ‘सेल्फ क्वारेन्टाइनमा बसे/नबसेको अनुगमनम प्रहरी र स्थानीय प्रशासनले गर्नेछ।’
क्वारेन्टाइनमा राख्नुभन्दा पहिला उनीहरु सबैको स्वास्थ्य जाँचसमेत अनिवार्य गरिने प्रहरीले जनाएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले उनीहरुको ठेगाना भएको स्थनीय प्रहरीलाई पत्राचार गर्ने तयारी सुरु गरेको छ।
चैत ४ गते काठमाडौं उत्रिएकी ती युवतीको चैत ९ गते कारोना संक्रमण भएको पुष्टि भएको थियो। त्यसपछि सक्रियता देखाएको सकरकारले आजदेखि लागू हुनेगरी एक हप्तासम्मका लागि लकडाउनसमेत गरेको छ।
यता, प्रहरीले सक्रियता पूर्वक सबै १५८ जनाकै ठेगाना खोज्न सुरु गरेको छ। सबैको ठेगाना पत्ता लगाउने कोसिसमा रहेकाे प्रहरीले जनाएकाे छ। कोरोना संक्रमित युवतीसँगै विमानमा आएका कोही व्यक्ति भए नजिकैको प्रहरी कार्यालय तथा स्वास्थ्य संस्थामा समेत सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
युवतीमा कारोना संक्रमण पुष्टि भएपछि प्रहरीले त्यसदिनको कतार एयरवेजकाे सबै उडानको विवरण माग गरेको थियो। उक्त दिन कतार एयरले भरेका तीनवटै उडानको विवरण प्रहरीलाई उपलब्ध गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।