काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण विश्व खेलकुद ठप्प छ। केही खेलाडी र प्रशिक्षकमा पनि संक्रमण देखिएको छ। यसैले खेलाडीहरुलाई १४ दिनको ‘सेल्फ क्वारेन्टाइन’ अनिवार्य गरिएको छ। तर यही बेला स्पेनिस क्लब रियल मड्रिडका खेलाडी लुका योभिच भने क्वारेन्टाइन छाडेर प्रेमिका भेट्न निस्किदिएका छन्।
गएको बिहीबार रियल मड्रिडका बास्केटबल खेलाडी टेरी थम्पकिन्समा कोरोना भाइरसको संक्रमण देखिएपछि फुटबल टिमकासहित सबै खेलाडीलाई १४ दिनको क्वारेन्टाइन अनिवार्य गरिएको थियो। तर योभिचले पनि उक्त नियम तोडेका हुन्।
प्रेमिकाको जन्मदिन परेकाले आफू घरबाट निस्किएको र त्यसले कसैको जीवन खतरामा पार्ने काम भएको छ भने माफि दिन आग्रह गर्दै योभिचले प्रतिक्रिया पनि दिएका छन्। तर उनको कामको विरोधमा धेरै जना सामाजिक सञ्जालमा देखिएका छन्।
सामाजिक सञ्जालमा भएको अत्याधिक विरोधपछि योभिचका बुबा मिलानले आफ्नो छोराले नियम तोडेर खराब काम गरेको हो भने जेलमा हालिदिए पनि हुने भन्दै प्रतिक्रिया दिएपछि त्यसबारेको बहस अझ बढेको छ। ‘यदि उसले नियम तोडेको छ भने जेलमा हालिदिए पनि हुन्छ तर मलाई लाग्दैन कि उसले त्यसरी कुनै नियम तोडेको छ, उसको बानी त्यस्तो छैन’ उनका बुबाले भनेका छन्।
सर्भियाका योभिच घरमा नै सुरक्षित बस्ने भन्दै रियल मड्रिडको अनुमतिमा नै घर गएका थिए। तर त्यहाँबाट प्रेमिका भेट्न निस्किएको भन्दै खबर बाहिरिएपछि उनको आलोचना बढिरहेको हो।
‘अहिले संकटको यस्तो अवस्थामा पनि कुराकानीको विषय ममा केन्द्रित हुँदा दुःख लागेको छ। म सबैसँग माफि माग्न चाहन्छु। स्पेनमा सुपर मार्केट र औषधी पसलसम्म जाने छुट हुन्थ्यो। त्यस्तै सोचेर निस्किएको थिएँ तर सर्बियामा त्यो मान्य नहुने कुरा मलाई याद भएन’ योभिचले माफि माग्दै भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।