काठमाडौं- आजदेखि लामो दूरीको यात्रुवाहक सवारीसाधनमा रोक लागेको छ।
गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै चैत १० देखि लामो दुरीका यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरेका थिए।
यातायात व्यवस्था विभागले लामो दुरी भन्नाले २ सय ५० किलोमिटर भन्दा बढीका बाटोलाई व्याख्या गरेको छ। लामो दुरीका सवारीसाधन भन्नाले २ सय ५० किलोमिटरभन्दा बढी दुरीमा गुड्ने सवारीसाधनलाई बुझाउँछ। तर यो दुरीमा काठमाडौंबाट भारत तथा चीनको सीमानामा सहजै पुग्न सकिन्छ। काठमाडौंबाट त्रिशुली हुँदै चीनको सीमा रसुवागढी पुग्न १ सय ५८ किलाेमिटर मात्र रहेको छ। त्यस्तै १ सय १६ किलोमिटरमा काठमाडौंबाट तातोपानी नाका पुग्न सकिन्छ।
काठमाडौंबाट त्रिभुवन राजपथ हुँदै रक्सौल करिब १ सय ४० किलोमिटरमै पुग्न सकिन्छ। यसरी हेर्दा २ सय ५० किलोमिटरमा भारत तथा चीनको सीमानामा सहजै पुग्न सकिन्छ।
काठमाडौं-पोखराको दुरी २ सय किलोमिटर रहेको छ। २ सय ५० किलोमिटरमा पर्वत पुग्न सकिन्छ। काठमाडौंबाट २ सय ५० किमिमा रुपन्देहीको सिमानासम्म पुग्न सकिन्छ।
यसैगरी काठमाडौंबाट बिपी राजमार्ग हुँदै बर्दिबास २ सय किलोमिटर भन्दा कम दुरीमा पुग्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।