काठमाडौं- प्रतिबन्धमा परेका क्रिकेटर सरजिल खानलाई खेलमा फर्काएको विषयमा प्रतिक्रिया दिएका मोहम्मद हाफिजलाई जवाफ दिँदै पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत वासिम खानले भनेका छन्- ‘आफ्नै खेलमा ध्यान दिँदा राम्रो।’
पाकिस्तान क्रिकेट लिग (पिसिएल) मा भएको ‘भ्रष्टाचार काण्ड’मा पाकिस्तान क्रिकेट बोर्डले उनलाई क्रिकेटका सबै खेलहरु खेल्न नपाउने गरी पाँच वर्षको प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धमा परेका उनले बोर्डमार्फत माफि माग्दै खेलमा फर्काउन आग्रह गरेका थिए।
त्यसलगत्तै उनलाई पाकिस्तान सुपर लिगमा कराची किंग्सले आबद्ध गराएको थियो। ओपनिङ ब्याट्सम्यान रहेका उनले १० खेलमा १ सय ९९ रन बनाएका थिए। कोरोना भाइरसको संकट बढ्दै जाँदा पाकिस्तान सुपर लिगको सेमिफाइनल खेलहरु नै हुन सकेको छैन।
सरजिल खेलमा फर्किएपछि नै हाफिजले सामाजिक सञ्जालमा प्रश्न उठाउँदै भनेका थिए– ‘हामीले खेलको गरिमालाई माथि राखिराख्नु पर्ने होइन र? कुनै ‘एक्स्ट्रा ट्यालेन्ट’ले पाकिस्तानलाई अघि बढाउनुभन्दा पहिले सोच्ने हो कि।’
उनको भनाइपछि पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत वासिम खानले कुनै खेलाडीले अर्को खेलाडीबारे त्यसरी आलोचना गर्न नहुने प्रतिक्रिया दिए। उनले भनेका छन्– ‘एक खेलाडीले अर्को खेलाडीका बारेमा त्यसरी आलोचना गर्न मिल्दैन। क्रिकेट बोर्ड कसरी चल्छ र कसरी चलाउनुपर्छ भन्ने विषयमा खेलाडीले धेरै चिन्ता नगर्दा राम्रो। उनले आफ्नो खेलमा ध्यान दिँदा राम्रो हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।