काठमाडौं–कोरोना संक्रमण र त्रास बढ्दै जाँदा आम जनजीवन प्रभावित भएको छ। योसँगै उत्पादन क्षेत्र समेत संकटमा परेको छ। विश्वका विभिन्न सवारी उत्पादक कम्पनीहरुले जस्तै भारतीय सवारी उत्पादकहरुले पनि आफ्नो उत्पादन बन्द गर्ने घोषणा गर्न थालेका छन्।
सवारी बिक्री ठप्प प्रायः हुने थालेसँगै भारतीय सवारी उत्पादकले धमाधम उत्पादन प्लान्ट बन्द गर्न थालेका हुन्। भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले दुई वटा प्लान्ट अस्थायी रुपमा बन्द गर्ने भएको छ। आइतबार कम्पनीले मनसार र गुरुग्रामका दुई वटा प्लान्ट अस्थायी रुपमा बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मार्च ३१ सम्मका लागि प्लान्ट बन्द गर्ने निर्णय भएको मारुती सुजुकीले विज्ञप्तिमार्फत् जनाएको छ।
त्यस्तै महिन्द्रा एन्ड महिन्द्राले पनि आफ्नो उत्पादन प्लान्ट बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले महाराष्ट्रमा कोरोनाको संक्रमण बढेको भन्दै उक्त निर्णय गरेको हो।
कम्पनीले नागपुर प्लान्ट, पुनामा रहेको प्लान्ट र मुम्बईस्थित उत्पादन प्लान्ट समेत सोमबार रातिदेखि बन्द गर्ने निर्णय भएको विज्ञप्तिमार्फत जनाएको छ।
इटालियन कम्पनी फियाटले समेत भारतमा रहेको प्लान्ट बन्द गर्ने निर्णय गरेको छ। आइतबारदेखि लागू हुने गरि प्लान्ट मार्च ३१ सम्म बन्द हुने छ।
अर्को भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले समेत उत्पादन प्लान्ट बन्द गर्नुपर्ने अवस्था आउने भन्दै तयारी अवस्थामा रहेको जनाएको छ। महाराष्ट्रमा रहेको प्लान्ट तत्कालै बन्द गर्नुपर्ने अवस्थाबारे कम्पनी सचेत रहेको र कोरोना संक्रमण बढ्दै गए अन्यत्र रहेका कार उत्पादन प्लान्टसमेत बन्द गर्ने तयारीमा कम्पनी रहेको विज्ञप्तिमा उल्लेख छ।
टाटा मोटर्सकै स्वामित्वमा रहेको बेलायती विलासी कार कम्पनी ज्यागुअर ल्यान्डरोभरले पनि बेलायतमा रहेको उत्पादन प्लान्ट यसअघि नै बन्द गर्ने निर्णय गरिसकेको छ।
त्यसैगरी भारतको सबैभन्दा ठूलो दुईपांग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले भारतसहित कोलम्बिया तथा बंगलादेशमा रहेका प्लान्टबाट उत्पादन बन्द गर्ने निर्णय गरेको छ। आइतबारदेखि मार्च ३१ सम्म प्लान्ट बन्द गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमा जनाएको छ।
यसका साथै अन्य सवारी उत्पादक कम्पनीहरु समेत उत्पादन बन्द गर्ने अवस्थामा पुगेका छन्। कोरोना संक्रमण बढ्दै गएकाले प्लान्ट बन्द गर्नुको विकल्प नभएको उत्पादकहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।